`

नेपालमै विकसित जिङ्क गहुँ-१ अब व्यावसायिक उत्पादनमा

Nepal One HD २० असोज २०८३ १४:१२
विज्ञान-प्रविधि

काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले लामो समयको अनुसन्धानपछि विकास गरेको पोषणयुक्त ‘जिङ्क गहुँ-१’ अब व्यावसायिक रूपमा उत्पादन र बजारीकरण हुने भएको छ। यसका लागि नार्क र निजी क्षेत्रको बिग एग्रो ग्रुप लिमिटेडबीच सम्झौता भएको छ।

सम्झौताअनुसार बिग एग्रोले जिङ्क र आइरनयुक्त गहुँबाट ‘राज चक्की आँटा’ ब्रान्डमा पोसिलो आँटा उत्पादन गरी बजारमा ल्याउनेछ। नार्कले आवश्यक बीउ, प्राविधिक ज्ञान तथा उत्पादन प्रविधिसम्बन्धी सहजीकरण गर्नेछ भने बिग एग्रोले किसानबाट गहुँ खरिद गरी आँटा उत्पादन, प्याकेजिङ र बजारीकरण गर्नेछ।

नार्कका अनुसार जिङ्क गहुँ-१ बायोफोर्टिफाइड अर्थात् सूक्ष्म पोषक तत्त्वको मात्रा बढाइएको गहुँको जात हो। मेक्सिकोस्थित सिमिटसँगको सहकार्यमा विभिन्न उन्नत प्रजातिको संयोजनबाट विकास गरिएको यो जात मुख्यतः तराई, भित्री मधेस र समुद्र सतहदेखि ८०० मिटर उचाइसम्मका क्षेत्रमा खेतीका लागि सिफारिस गरिएको छ।

यो जात बीउ छरेको करिब १२१ दिनमा पाक्ने र यसको औसत उत्पादकत्व ५.०१ टन प्रतिहेक्टर रहेको नार्कले जनाएको छ। नेपालमा गहुँको औसत उत्पादकत्व भने करिब ३ टन प्रतिहेक्टर रहेको छ।

जिङ्क गहुँ-१ को प्रमुख विशेषता यसको सूक्ष्म पोषक तत्त्वको मात्रा हो। नार्कका अनुसार साधारण गहुँको तुलनामा यसमा जिङ्क ३५ देखि ५२ पीपीएम र आइरन ३४ देखि ४१ पीपीएमसम्म पाइन्छ। यो जात खैरो सिन्दुरे, पहेँलो सिन्दुरे र पात डढुवाजस्ता रोगप्रति पनि अवरोधी रहेको जनाइएको छ।

बिग एग्रोका अनुसार आगामी गहुँको सिजनदेखि किसानले यसको व्यावसायिक खेती सुरु गर्नेछन्। किसानबाट उत्पादित गहुँ खरिद गरी त्यसबाट आँटा उत्पादन गरेर बजारमा पठाइनेछ। कम्पनीले अन्य गहुँको आँटाको तुलनामा बढी पोषक तत्त्व भए पनि यसको मूल्य भने अन्य आँटाकै हाराहारीमा राख्ने जनाएको छ।

जिङ्क शरीरमा सञ्चित भएर नरहने भएकाले दैनिक आहारबाट प्राप्त गर्न आवश्यक हुने नार्कका वैज्ञानिकहरूको भनाइ छ। उनीहरूका अनुसार जिङ्कले प्रतिरक्षा प्रणाली, बालबालिकाको वृद्धि तथा मस्तिष्क विकास, घाउ निको पार्ने प्रक्रिया र कोषिका विकासमा भूमिका खेल्छ।

नार्कका अनुसार नेपालमा करिब २५ प्रतिशत जनसङ्ख्यामा जिङ्कको कमी देखिएको छ। यस्तो अवस्थामा जिङ्क र आइरनयुक्त गहुँलाई नियमित खाद्य प्रणालीमा समावेश गर्न सके पोषण सुरक्षामा योगदान पुग्ने अपेक्षा गरिएको छ।

नेपालमा जिङ्क तथा आइरनयुक्त गहुँको विस्तारलाई तीव्र बनाउने लक्ष्यसमेत राखिएको छ। सन् २०२७ सम्म नेपालको कुल गहुँ खेती हुने क्षेत्रफलको ३० प्रतिशत भूभागमा बायोफोर्टिफाइड गहुँ पुर्‍याउने लक्ष्य रहेको नार्कले जनाएको छ। जिङ्क गहुँ-१ सँगै जिङ्क गहुँ-२, बोरलग २०२०, भेरीगङ्गा, हिमगङ्गा र खुमल शक्ति लगायतका जातलाई पनि अभियानमा समेटिएको छ।

यसैबीच सन् २०२६ मा थप चार नयाँ गहुँका जातसमेत सिफारिसका लागि अनुमोदन भएका छन्। बीएल ४८१८ ‘सारस’, एनएल १४४६ ‘भैरव’, एनएल १४८८ ‘बडीमालिका’ र एनएल ११७९ ‘गुराँस’ ती जात हुन्। भैरव र बडीमालिकामा समेत जिङ्क तथा आइरनको मात्रा ४० पीपीएमभन्दा बढी रहेको नार्कले जनाएको छ।

नार्कका अनुसार नेपालमा सन् १९६० देखि २०२६ सम्म ५८ वटा गहुँका जात सिफारिस भइसकेका छन्। देशमा खेती हुने गहुँको ९४ प्रतिशतभन्दा बढी क्षेत्रफल आधुनिक तथा उच्च उत्पादन दिने जातले ओगटेको छ।

जिङ्क गहुँ-१ को व्यावसायिक उत्पादनसँगै किसानलाई नयाँ जातको खेतीतर्फ आकर्षित गर्ने र उपभोक्तालाई पोषणयुक्त खाद्य वस्तु उपलब्ध गराउने अपेक्षा गरिएको छ। अनुसन्धानबाट विकास भएका प्रविधि र उत्पादनलाई निजी क्षेत्रमार्फत बजारसम्म पुर्‍याउने यो पहलले कृषि अनुसन्धान र व्यावसायिक उत्पादनबीचको दूरी घटाउने विश्वास नार्कले लिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *