चोलेन्द्रको घरमा पनि छापा
काठमाडौं। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको घरमा पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोली पुगेको छ।
जबरानिकट मानिएका व्यक्तिहरूको निवासमा छापा मारेको केही घण्टामै अनुसन्धान टोली बाँसबारीस्थित जबराको घर पुगेको हो।
आज दिउँसो विभागको टोली नारायण दाहाल, दीपक तिमल्सिना र नवीन बस्नेतलगायत जबरानिकट भनिएका व्यक्तिका घरमा पुगेको थियो। ती स्थानमा सम्भावित प्रमाण तथा कागजात संकलन गरिरहेको टोलीले जबराको घरमा पनि अनुसन्धान अघि बढाएको बताइएको छ।
जबरामाथि सरकारले यसअघि नै निगरानी बढाएको थियो। गत साता उनलाई सुरक्षा जोखिम रहेको भन्दै निवासबाट नियन्त्रणमा लिएर प्रहरी कार्यालय पुर्याइएको थियो। त्यस क्रममा उनको मोबाइलसमेत प्रहरीले लिएको बताइएको थियो।
त्यतिबेला प्रहरीले भने उनलाई पक्राउ नभई सुरक्षा प्रयोजनका लागि सुरक्षित स्थानमा सारिएको दाबी गरेको थियो। अहिले भने जबरासँग जोडिएका व्यक्तिका घरमा एकपछि अर्को छापा पर्न थालेपछि घटनाक्रम थप चासोको विषय बनेको छ।
