दसौँ राष्ट्रिय खेलकुदमा पदकसँगै खेलाडीलाई नगद पुरस्कार
काठमाडौं । कर्णाली प्रदेशमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीले पदकसँगै नगद पुरस्कार पनि पाउने भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहेताले प्रतियोगिताका व्यक्तिगत तथा समूहगत विधामा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।
परिषद्का अनुसार व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जित्ने खेलाडीले २० हजार रुपैयाँ पाउनेछन् । यस्तै रजत पदक विजेतालाई १५ हजार र कांस्य पदक विजेतालाई ८ हजार रुपैयाँ प्रदान गरिनेछ ।
समूहगत स्पर्धाका विजेताका लागि भने पुरस्कार रकम केही फरक राखिएको छ । समूहगत विधामा स्वर्ण पदक जित्ने खेलाडीलाई १५ हजार रुपैयाँ, रजत विजेतालाई १० हजार तथा कांस्य पदक विजेतालाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
सदस्यसचिव मेहेताका अनुसार प्रतियोगितामा समावेश सबै ३२ खेल विधाका पदक विजेता खेलाडीले पदकसँगै नगद पुरस्कार प्राप्त गर्नेछन् ।
खेलाडीको मनोबल बढाउने र राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका लागि प्रोत्साहित गर्ने उद्देश्यले पुरस्कारको व्यवस्था गरिएको मेहेताले बताए ।
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि बसेको मूल समारोह तथा आयोजक समितिको बैठकमा खेलाडीलाई नगद पुरस्कार दिने विषयमा छलफल भएको थियो । बैठकमा प्रतियोगिताको समग्र तयारी, खेलस्थलको व्यवस्थापन, खेलाडीको आवास, यातायात तथा अन्य आवश्यक पूर्वाधारका विषयमा समेत छलफल गरिएको थियो ।
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन गर्ने तयारी छ ।
प्रतियोगितामा सात प्रदेशका साथै तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएन) गरी ११ टोली सहभागी हुनेछन् ।
प्रतियोगितामा विभिन्न ३२ खेल विधामा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । मुख्य खेलस्थलका रूपमा वीरेन्द्रनगरस्थित प्रदेश रंगशालालाई प्रयोग गर्ने तयारी गरिएको छ ।
कर्णालीका अन्य जिल्लामा पनि खेलको प्रकृति र पूर्वाधारअनुसार विभिन्न विधाका प्रतियोगिता सञ्चालन गर्ने योजना आयोजकको छ ।
राष्ट्रिय खेलकुदमा पदकका लागि प्रतिस्पर्धा गर्ने खेलाडीलाई यसपटक नगद पुरस्कारसमेत थपिएपछि प्रतियोगितामा सहभागी खेलाडीको उत्साह बढ्ने अपेक्षा गरिएको छ ।
