`

समृद्ध नेपालका लागि सरकार, निजी क्षेत्र र समाजको साझा प्रयास आवश्यक : राष्ट्रपति

Nepal One HD २२ असोज २०८३ १४:०५
राजनीति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माणका लागि सरकार, निजी क्षेत्र र समाजको संयुक्त प्रयास आवश्यक रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग आज भएको भेटमा राष्ट्रपति पौडेलले मुलुकको आर्थिक विकासलाई गति दिन निजी क्षेत्रले अझ सक्रिय र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

उनले नेपालको अर्थतन्त्रलाई उत्पादनमुखी, गतिशील र प्रतिस्पर्धी बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए । आर्थिक समृद्धि, रोजगारी सिर्जना र नागरिकको जीवनस्तर सुधारमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको उनको भनाइ थियो ।

सरकारले लगानीको सुरक्षा, नीतिगत स्थिरता, पूर्वाधार विकास, सहज प्रशासन र व्यवसायमैत्री वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए । निजी क्षेत्रले पनि लगानी, उत्पादन, उद्यमशीलता, नवप्रवर्तन तथा रोजगारी सिर्जनालाई विस्तार गर्नुपर्ने उनले बताए ।

राष्ट्रपति पौडेलले अबको प्राथमिकता उत्पादन वृद्धि, निर्यात प्रवर्द्धन, स्वदेशी तथा विदेशी लगानी आकर्षण र रोजगारी सिर्जनामा केन्द्रित हुनुपर्ने बताए । नेपाली अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता बढाउन पनि त्यसअनुसारका कार्यक्रम अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

जलविद्युत्, पर्यटन, कृषि तथा कृषिजन्य उद्योग, सूचना प्रविधि र उत्पादनमूलक क्षेत्रमा रहेको सम्भावनालाई प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने उनले बताए ।

देशको युवा जनशक्तिलाई स्वदेशमै अवसर र उद्यमशीलताको वातावरण सिर्जना गर्नु राज्य र निजी क्षेत्रको साझा दायित्व रहेको राष्ट्रपति पौडेलले उल्लेख गरे ।

महासंघमा आबद्ध १४ लाखभन्दा बढी व्यवसायीको प्रगति देशको आर्थिक प्रगतिसँग जोडिएको बताउँदै उनले महासंघले नेपाली उत्पादन, सेवा र उद्यमलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन थप प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

डिजिटल प्रविधिको विस्तार र विश्वव्यापी प्रतिस्पर्धा बढिरहेका बेला महासंघले आफ्नो राष्ट्रिय सञ्जाललाई अन्तर्राष्ट्रिय आर्थिक सञ्जालसँग जोडेर नेपाली उत्पादन तथा सेवाको बजार विस्तारमा योगदान दिनुपर्ने उनको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *