`

‘विशेष महाधिवेशन गरेकै दिन कांग्रेस फुट्यो’

Nepal One HD २२ असोज २०८३ १२:५४
नेपाली कांग्रेस

काठमाडौं। कांग्रेसको झगडा अब ‘फुट्यो कि फुटेन’ भन्ने बहसमा पुगेको छ। नेपाली कांग्रेसका देउवा पक्षका नेता विमलेन्द्र निधिले विशेष महाधिवेशन भएकै दिन पार्टी व्यवहारिक र राजनीतिक रूपमा दुई चिरामा बाँडिएको दाबी गरेका छन्। कानुनी रूपमा मात्रै विभाजनको टुंगो लाग्न बाँकी रहेको उनको भनाइ छ।

जनकपुर पुगेका निधिले विशेष महाधिवेशन गराउनेहरूलाई नै पार्टी फुटाउने पक्षका रूपमा चित्रण गरे। उनको भनाइमा, विशेष महाधिवेशनअघि देखिएको विवाद त्यसपछि पार्टीभित्रै अलग धारका रूपमा स्थापित भएको हो।

निधिले भने, ‘जहिले विशेष महाधिवेशन भयो, त्यतिबेला पार्टी फुट्यो । जसले विशेष महाधिवेशन गर्‍यो, उसैले पार्टी फुटायो ।’

उनले विशेष महाधिवेशनमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी नभएको दाबीसमेत गरे। ४० प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्न सक्ने भए पनि त्यसबाट निर्णय गर्ने अधिकार प्राप्त नहुने निधिको तर्क छ।

उनका अनुसार विशेष महाधिवेशन बोलाउने विषय र त्यसबाट पार्टीका महत्वपूर्ण निर्णय गर्ने विषय एउटै होइनन्। निर्णय गर्ने अधिकार केन्द्रीय कार्यसमितिको भएको भन्दै उनले गगन थापा र विश्वप्रकाश शर्माले आफूअनुकूल प्रक्रिया अघि बढाएको आरोप लगाए।

‘जे चाहिरहेका थिए, त्यो सबै आफैँले घोषणा गरिदिए। केन्द्रीय समितिले निर्णय नै गरेन,’ निधिको भनाइ थियो, ‘त्यसैले प्रक्रिया भएन।’

विशेष महाधिवेशनको वैधानिकतालाई लिएर कांग्रेसभित्र सुरुदेखि नै विवाद रहँदै आएको छ। देउवा पक्षले केन्द्रीय कार्यसमितिको निर्णयबिना विशेष महाधिवेशन अघि बढाइएको भन्दै आपत्ति जनाउँदै आएको थियो। अर्कोतर्फ, विशेष महाधिवेशन पक्षले प्रतिनिधिको बहुमत समर्थनका आधारमा प्रक्रिया अघि बढाइएको तर्क गर्दै आएको छ।

अहिले विवाद अदालतसम्म पुगेको छ। शेरबहादुर देउवाले सर्वोच्च अदालतमा पुनरवलोकनका लागि निवेदन दिएर निस्सा पाइसकेको उल्लेख गर्दै निधिले अन्तिम फैसला आउन समय लाग्न सक्ने बताए।

तर, मंसिर २१ गतेदेखि हुने भनिएको महाधिवेशनलाई भने निधिले अवैध मान्न नसकिने जिकिर गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *