चोलेन्द्र प्रकरण : ‘स्याउको बाकस’देखि खानतलासीसम्म,लहरो तान्दा पहरो थर्कियो
काठमाडौँ । स्याउ बोक्ने बाकसमा आखिर के थियो ? स्याउ कि पैसा ? यही प्रश्नसहित परेको एउटा उजुरीले अनुसन्धानको बाटो तय गर्दै पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको घरसम्म पुर्याएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोली बुधबार जबराको बाँसबारीस्थित निवासमा पुग्यो। घर खानतलासी गरेर केही कागजात तथा विद्युतीय उपकरण नियन्त्रणमा लिइयो। अनुसन्धानको दायरा जबराको निवासमा मात्र सीमित रहेन। उनीसँग जोडिएका व्यक्तिका घरसम्म पनि विभागको टोली पुग्यो।
पूर्वउच्च अदालतका न्यायाधीश नवराज थपलिया, दीपक तिमल्सेना र नारायण दाहाललगायतका व्यक्तिको घरमा समेत खानतलासी भएको विवरण सार्वजनिक भएको छ। जबराका भाइ प्रभुशमशेरको निवासमा पनि टोली पुगेको रिपोर्ट छ।
तर यो छापामारीको कथा बुधबारबाट सुरु भएको होइन। यसको पृष्ठभूमिमा केही समयदेखि विकसित हुँदै आएको घटनाक्रम र एउटा अनौठो प्रकृतिको उजुरी जोडिएको छ।
सरकारको ‘हेलो सरकार’मार्फत परेको उजुरीमा ‘स्याउको बाकस’लाई सांकेतिक नामका रूपमा प्रयोग गर्दै घुस वा अवैध रकम ओसारपसार हुने गरेको दाबी गरिएको छ। फलफूल राख्ने बाकसमा नगद रकम राखेर ओसारपसार हुने गरेको दाबीसमेत उजुरीमा समेटिएको स्रोतले जनाएको छ।
तर ‘स्याउको बाकस’मा पैसा ओसारपसार भएको दाबी अहिलेसम्म स्वतन्त्र रूपमा पुष्टि भएको छैन। विभागले उजुरी र प्राप्त सूचनालाई अनुसन्धानको आधार बनाएर कागजात, बैंकिङ कारोबार तथा विद्युतीय उपकरणमार्फत त्यसको तथ्य परीक्षण गरिरहेको छ।
अर्थात्, बाकसमा स्याउ थियो कि पैसा भन्ने प्रश्नको वास्तविक जवाफ अनुसन्धानले खोज्दैछ।
जबराको घरमा भएको खानतलासीलाई अलग घटनाका रूपमा मात्र हेर्न मिल्दैन। यसअघि नै उनीसँग जोडिएका व्यक्ति र घटनाक्रमबारे अनुसन्धान अघि बढिसकेको थियो।
असोज ११ गते सुरक्षा चुनौती देखाउँदै जबरालाई निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई जेलबाट छुटाउन न्यायिक प्रक्रियामा चलखेल गरेको आरोपसमेत उनीमाथि जोडिएको थियो। करिब १२ घण्टा नियन्त्रणमा राखिएपछि जबरा रिहा भएका थिए।
त्यसपछि जबरासँग सम्पर्क देखिएका इनम सापकोटा अनुसन्धानको घेरामा परे। सापकोटाको मोबाइल तथा सम्पर्क विवरण खोतल्ने क्रममा थप व्यक्तिसँगको सम्बन्ध देखिएको अनुसन्धान स्रोतहरूको दाबी छ।
अनुसन्धानको यही क्रमसँगै सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल निलम्बित भए। उता व्यवसायी दीपक भट्टलाई नख्खु कारागारबाट सिन्धुपाल्चोक सारियो।
भट्टको कारागार सरुवा, जबरासँगको सम्पर्क र उनलाई न्यायिक प्रक्रियाबाट छुटाउने प्रयाससम्बन्धी आरोप पनि अनुसन्धानको एउटा पाटो बनेको छ।
यसरी हेर्दा घटनाक्रम एउटा व्यक्तिको पक्राउ वा एउटा घरको खानतलासीमा सीमित देखिँदैन। एउटा सम्पर्कबाट अर्को सम्पर्क, एउटा अनुसन्धानबाट अर्को अनुसन्धान र एउटा उजुरीबाट अर्को आर्थिक तथा व्यक्तिगत सम्बन्धतर्फ अनुसन्धान अघि बढेको देखिन्छ।
जबराको घरमा छापा परेपछि अनुसन्धानको अर्को महत्वपूर्ण चरण सुरु भएको छ। नियन्त्रणमा लिइएका कागजात र विद्युतीय उपकरणबाट भेटिने विवरणले अनुसन्धानको दिशा थप स्पष्ट पार्न सक्छ।
सम्पर्क विवरण, बैंकिङ कारोबार, सम्पत्तिको स्रोत र आपसी आर्थिक सम्बन्धबारे प्राप्त तथ्यलाई अनुसन्धानकर्ताले आपसमा मिलाएर हेर्नेछन्। त्यहाँबाट नयाँ व्यक्ति वा कारोबार जोडिए अनुसन्धानको दायरा अझ फराकिलो हुन सक्छ।
यसकारण अहिलेको अनुसन्धान जबराको व्यक्तिगत सम्पत्तिमा मात्र केन्द्रित छैन। उनीसँग जोडिएका व्यक्तिको आर्थिक गतिविधि, सम्पत्तिको स्रोत, बैंकिङ कारोबार र आपसी सम्पर्कसमेत अनुसन्धानको विषय बनेका छन्।
‘स्याउको बाकस’को उजुरी पनि यही चरणमा छ। उजुरीमा उल्लेख गरिएको रकमको ओसारपसार, त्यससँग जोडिएका व्यक्ति र आर्थिक कारोबारको वास्तविकता प्रमाणित गर्न विभागले प्रमाण खोजिरहेको छ।
जबराको घरमा छापा परेको छ। तर छापासँगै उठेको प्रश्न उनको घरमा के भेटियो भन्ने मात्र होइन। त्यसले कुन सम्पर्क, कुन कारोबार र कुन सम्पत्तिको स्रोतसम्म अनुसन्धानलाई पुर्याउँछ भन्ने हो।
पक्राउपछि सम्पर्क खोतलियो, बिचौलियाको सम्भावित कनेक्सनमाथि अनुसन्धान भयो, सुरक्षा अधिकारीमाथि कारबाही भयो, जेल सरुवासम्मको घटनाक्रम अघि बढ्यो।
अहिले त्यही अनुसन्धानको अर्को कडीका रूपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग घरघर पुगेको छ।
