`

कांग्रेस महाधिवेशनमा २ बजेदेखि मतदान

Nepal One HD २२ असोज २०८३ १३:३६
नेपाली कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज दिउँसो २ बजेदेखि मतदान हुने भएको छ।

निर्वाचन समितिले सभापति, उपसभापति र महामन्त्री पदका उम्मेदवारहरूसँग निर्वाचन व्यवस्थापनबारे छलफल गरेपछि मतदानको समय तय गरेको हो। केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार खुलामञ्चमा २ बजेदेखि मतदान सुरु हुनेछ भने राष्ट्रिय सभागृहमा केही समय ढिला हुन सक्नेछ।

महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्नेछन्।

मतदानका लागि विभिन्न समूह र प्रदेशअनुसार छुट्टाछुट्टै केन्द्र तोकिएको छ। राष्ट्रिय सभागृहको मतदान केन्द्र ‘क’ मा बागमती प्रदेश, खुलामञ्चको मतदान केन्द्र ‘ख’ मा कोशी प्रदेश तथा तराई-मधेस समूह, हिमाल हलमा गण्डकी प्रदेश, तराई-मधेस हलमा मधेश प्रदेश तथा पहाड हलमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश, नेपाली जनसम्पर्क समिति तथा भ्रातृ संस्थाका प्रतिनिधिले मतदान गर्नेछन्।

निर्वाचन समितिले प्रतिनिधिहरूलाई आफ्नो परिचयपत्र र मतदाता नामावली रुजु गराएपछि तोकिएको मतदान केन्द्रमा गई मतदान गर्न आग्रह गरेको छ। मतदानस्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लैजान पाइने छैन।

कांग्रेसको केन्द्रीय कार्यसमिति निर्वाचनका लागि उम्मेदवारी दर्ता, दाबी-विरोध र उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा भइसकेको छ। निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम नामावलीसमेत सार्वजनिक गरिसकेको छ।

मतदानबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। मतदान सकिएपछि मतगणना सुरु गर्ने र गणना सम्पन्न भएपछि निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी निर्वाचन समितिको छ।

साथै, १५औँ महाधिवेशनबाट विधान संशोधन गरी कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *