सांसद सुनारलाई राजीनामा दिन सुदन किरातीको सुझाव, ‘नैतिकता बलियो नभई जनताले नयाँ भनेर कसरी विश्वास गर्ने?’
काठमाडौं । श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारलाई पदबाट राजीनामा दिएर आफूमाथि उठेका प्रश्नको निष्पक्ष छानबिनमा सहयोग गर्न सुझाव दिएका छन्।
सुनारसँग सम्बन्धित अडियो सामग्री र विभिन्न आरोप सार्वजनिक भएपछि किरातीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद पदको मर्यादा कायम राख्न राजीनामा दिएर छानबिनमा सहयोग गर्न आग्रह गरेका हुन्।
किरातीले सांसद पद कुनै ओहोदा वा सत्ताको साधन मात्र नभई नागरिकको भरोसा र सार्वजनिक नैतिकताको सर्वोच्च मानक भएको उल्लेख गरेका छन्।
‘माननीय खगेन्द्र सुनारजी, सांसद पद एउटा ओहोदा वा सत्ताको साधन मात्र होइन, नागरिकप्रतिको भरोसा र सार्वजनिक नैतिकताको एक सर्वोच्च मानक पनि हो,’ उनले लेखेका छन्।
उनले अनुहार अर्थात् पात्र फेरिँदैमा समाज परिवर्तन नहुने भन्दै सोच र प्रवृत्तिमा परिवर्तन आउनुपर्ने बताएका छन्। उत्पीडन, मुक्ति र नैतिकताको एजेन्डा बोकेर आएका व्यक्तिमाथि नै गम्भीर आरोप र प्रश्न उठेको अवस्थामा त्यसको निष्पक्ष निरुपण आवश्यक रहेको उनको भनाइ छ।
‘अब मार्गप्रशस्त गरेर नयाँ राजनीतिक संस्कारको उदाहरण बन्न र सांसदजस्तो गरिमामय पदको मर्यादा जोगाउन आफूमाथि उठेका प्रश्नको निरुपणका लागि तत्काल पदबाट राजीनामा दिई निष्पक्ष छानबिनमा सहयोग गर्नुहोस्,’ किरातीले लेखेका छन्।
किरातीले नैतिकता र राजनीतिक विश्वसनीयताबीचको सम्बन्धसमेत औँल्याएका छन्। उनका अनुसार नैतिक धरातल बलियो नभएसम्म उत्पीडनबाट मुक्ति सम्भव हुँदैन र जनताले नयाँ राजनीतिक शक्तिमाथि विश्वास गर्न पनि सक्दैनन्।
‘खगेन्द्रजी ! नैतिक धरातल बलियो नभई न त उत्पीडनको मुक्ति सम्भव छ, न त जनताले “नयाँ” भनेर विश्वास नै गर्न सक्छन्,’ उनले उल्लेख गरेका छन्।
यसअघि रास्वपाले पनि सांसद सुनारमाथि सार्वजनिक भएका सामग्री र आरोपका सम्बन्धमा आन्तरिक छानबिन अघि बढाएको जनाएको थियो। पार्टीले छानबिन निष्कर्षमा नपुग्दासम्म उनलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ।
सुनारमाथि उठेका प्रश्नको निष्पक्ष छानबिन हुनुपर्ने मागसँगै यस प्रकरणले राजनीतिक नैतिकता, सार्वजनिक जवाफदेहिता र नयाँ राजनीतिक संस्कारको विषयलाई पुनः चर्चामा ल्याएको छ।
