ग्रहका अवशेष निलेपछि हरियो बन्यो तारा, वैज्ञानिकहरू पनि चकित
एजेन्सी । ब्रह्माण्डमा ताराहरू रातो, पहेँलो, सेतो र नीलो देखिनु सामान्य मानिन्छ। तर वैज्ञानिकहरूले वास्तविक हरियो रङको तारा पहिचान गरेको दाबी गरेका छन्। ग्रहका चट्टानी अवशेष निलेपछि यसको बाहिरी तहमा भएको रासायनिक परिवर्तनले तारालाई दुर्लभ हरियो चमक दिएको अनुसन्धानकर्ताहरूको निष्कर्ष छ।
‘डब्लुडी जे१३३०+६४३५’ नाम दिइएको यो तारा हाम्रो आकाशगङ्गा ग्यालेक्सीको ड्र्याको नक्षत्रमा अवस्थित छ। पृथ्वीबाट करिब २८० प्रकाश वर्ष टाढा रहेको यो तारा सामान्य ताराभन्दा निकै फरक प्रकृतिको छ। यो ‘ह्वाइट ड्वार्फ’ अर्थात् सेतो बौना तारा हो, जुन कम वा मध्यम द्रव्यमान भएका ताराहरूले आफ्नो आणविक इन्धन समाप्त गरेपछि बाहिरी तह गुमाएर बाँकी रहने अत्यधिक घनत्वयुक्त अवशेष हो।
सामान्यतया ताराको रङ त्यसको तापक्रमसँग सम्बन्धित हुन्छ। तुलनात्मक रूपमा चिसा तारा सुन्तला वा रातो देखिन सक्छन् भने सूर्यजस्ता ताराहरू सेतो र अत्यधिक तातो ताराहरू नीलोतर्फ देखिन्छन्। तर यो सेतो बौना ताराको रङ परिवर्तन हुनुको कारण तापक्रम मात्र नभई यसको वायुमण्डलमा भएको असामान्य रासायनिक संरचना हो।
बेलायतको वारविक विश्वविद्यालयका खगोलभौतिकशास्त्री मार्क पोल्यान्ड्सको नेतृत्वमा गरिएको अध्ययनअनुसार, ग्रहका टुक्राहरू ताराको सतहमा खस्दा त्यसको बाहिरी तहमा क्याल्सियम, लिथियम र विशेषगरी सोडियमजस्ता तत्व थपिएका थिए। यही रासायनिक परिवर्तनले ताराबाट निस्कने प्रकाशको स्वरूप बदल्न भूमिका खेलेको अनुसन्धानकर्ताहरूको भनाइ छ।
सामान्य अवस्थामा सोडियमले प्रकाशका केही निश्चित तरङ्ग लम्बाइ सोस्छ, जसले प्रकाशको रङमा प्रभाव पार्छ। तर यस ताराको अत्यधिक घनत्वयुक्त वायुमण्डलमा सोडियमका परमाणुहरू हिलियमका परमाणुसँग निरन्तर ठोक्किने गर्छन्। यसले सोडियमले प्रकाश सोस्ने तरिकामा परिवर्तन ल्याउँछ। फलस्वरूप सुन्तला, पहेँलो र केही रातो तरङ्ग लम्बाइको प्रकाश दबिँदा हरियो अर्थात् चार्ट्र्युज रङको चमक बढी देखिएको वैज्ञानिकहरूको व्याख्या छ।
अध्ययनका सहलेखक बोरिस ग्यान्सिकेका अनुसार, यो प्रक्रियालाई चित्रकारले क्यानभासमा रङ मिसाएजस्तै बुझ्न सकिन्छ। प्रकाशका केही रङ घट्दा वा सोसिँदा अन्तिममा देखिने रङ पूर्ण रूपमा फरक हुन सक्छ।
अनुसन्धान टोलीले न्यु मेक्सिकोस्थित टेलिस्कोपबाट प्राप्त ‘स्लोअन डिजिटल स्काई सर्भे’का प्रकाश स्पेक्ट्रम तथा वैज्ञानिक मोडल प्रयोग गरी ६५ प्रकाश वर्षभित्र रहेका १५१ वटा सेतो बौना ताराको अध्ययन गरेको थियो। यस क्रममा अर्को दुर्लभ रङको तारा पनि पहिचान गरिएको छ।
लेओ माइनर नक्षत्रमा पृथ्वीबाट करिब ४८ प्रकाश वर्ष टाढा रहेको ‘डब्लुडी जे१०११+२८४५५’ नामक ताराको रङ साल्मन गुलाबी देखिएको छ। अनुसन्धानकर्ताहरूका अनुसार यस ताराको रङ परिवर्तन हुनुमा बाहिरी ग्रहका अवशेषभन्दा पनि ताराको भित्री भागबाट बाहिर आएको कार्बनले भूमिका खेलेको छ।
अध्ययनले सेतो बौना ताराको वायुमण्डलमा कुन तत्व कति मात्रामा छ भन्ने कुराले पनि त्यसको देखिने रङ निर्धारण गर्न सक्ने देखाएको छ। कार्बनयुक्त केही ताराहरू गुलाबी वा बैजनी देखिन सक्छन् भने ग्रहका अवशेषबाट प्रभावित ताराहरू पहेँलो र हाइड्रोजन–हिलियमको मिश्रण भएका ताराहरू हल्का नीलो देखिन सक्छन्।
विज्ञान कथामा हरियो ताराको कल्पना पहिल्यै गरिए पनि वास्तविक ब्रह्माण्डमा यस्तो रङको तारा पहिचान भएको दाबीले वैज्ञानिकहरूको ध्यान तानेको छ। अनुसन्धानकर्ताहरूका अनुसार यो खोजले ताराको रङ केवल तापक्रमको संकेत मात्र नभई त्यसको रासायनिक संरचना र विगतमा भएका घटनाको प्रमाणसमेत हुन सक्ने देखाएको छ।
