बाढी-पहिरोले तीन जिल्लाका सडक अस्तव्यस्त, गोरखामा आवागमन ठप्प
काठमाडौँ । वर्षा र प्राकृतिक विपद्का कारण गण्डकी र कर्णाली प्रदेशका तीन जिल्लामा सडक आवागमन प्रभावित भएको छ। बाढी तथा पहिरोका कारण गोरखामा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ भने म्याग्दी र सुर्खेतमा पनि राजमार्ग प्रभावित भएका छन्।
नेपाल प्रहरीका अनुसार गोरखाको आरुघाट गाउँपालिका-२, ३ र १ अन्तर्गत नयाँपुल क्षेत्रमा बाढी आउनुका साथै फलामे पुलमा समस्या देखिएपछि आरुघाटबाट धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
त्यस्तै, म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ बैसरीमा पहिरो खस्दा बेनी-जोमसोम सडकखण्ड प्रभावित भएको छ। सुर्खेतको बराहताल गाउँपालिका-७ औलिसेमा पहिरो खसेपछि कर्णाली राजमार्गमा एकतर्फी रूपमा मात्रै सवारीसाधन सञ्चालन भइरहेका छन्।
साथै, प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको जनाएको छ। वर्षा र पहिरोको जोखिमलाई ध्यानमा राख्दै यात्रु तथा सवारी चालकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।
