युक्रेनी राष्ट्रपति जेलेन्स्कीको दाबी : रुसले कब्जा गरेभन्दा बढी भूभाग युक्रेनले मुक्त गर्यो
काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले पछिल्लो समय रुसी सेनाले कब्जा गर्न सफल भएको भन्दा बढी भूभाग युक्रेनी सेनाले मुक्त गरिरहेको दाबी गरेका छन् ।
सामाजिक सञ्जाल एक्समा लेख्दै उनले शरद ऋतु सुरु भएयता युक्रेनी सेनाले रुसी सेनाले कब्जा गरेको भन्दा बढी भूभाग आफ्नो नियन्त्रणमा लिएको दाबी गरेका छन्। यस वर्षका अन्य अवधिमा पनि यस्तै अवस्था देखिएको उल्लेख गर्दै जेलेन्स्कीले अग्रपङ्क्तिमा रुसी सेनामाथि दबाब कायम राखिएको बताएका छन् ।
उनका अनुसार डोब्रोपिलिया, कोस्ट्यान्टिनिभ्का, ओलेक्सिएभो-द्रुज्किभ्का, ओरिखिभ, नोभोपाभ्लिभ्का, नोभोआन्द्रिभ्का र भेलिकामाइखाइलिभ्का क्षेत्र युक्रेनी नियन्त्रणमा छन् ।
युक्रेनी सेनाले क्रामाटोर्स्क आसपासका क्षेत्रमा समेत आफ्नो प्रतिरक्षा कायम राखिरहेको जेलेन्स्कीले बताएका छन् । त्यस्तै, जापोरिज्जिया सहरबाट पाँच किलोमिटर टाढा नभई २० किलोमिटरको दूरीमा रुसी सेनामाथि आक्रमण गरी क्षति पुर्याइरहेको उनको दाबी छ ।
रुसभित्रबाट राष्ट्रपति भ्लादिमिर पुटिनलाई वास्तविक अवस्थाबारे गलत जानकारी दिइरहेको संकेत गर्दै जेलेन्स्कीले युद्धमैदानको अवस्थाबारे रुसी नेतृत्वलाई भ्रममा पारिएको टिप्पणी गरेका छन् ।
‘हाम्रो अग्रपङ्क्ति बलियो छ,’ जेलेन्स्कीले भनेका छन्, ‘आफ्नो जिम्मेवारी पूर्ण रूपमा पूरा गरिरहेका प्रत्येक सैनिक र सैन्य एकाइप्रति म आभार व्यक्त गर्दछु ।’
रुसले सन् २०२२ मा युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेयता दुवै पक्षबीच विभिन्न मोर्चामा भीषण युद्ध जारी छ । युद्धमा भूभागमाथिको नियन्त्रणलाई दुवै पक्षले आफ्नो सैन्य सफलताको महत्त्वपूर्ण सूचकका रूपमा प्रस्तुत गर्दै आएका छन् ।
यद्यपि, जेलेन्स्कीले उल्लेख गरेका भूभागमा नियन्त्रणको अवस्था र रुसी सेनाको क्षतिसम्बन्धी दाबीलाई स्वतन्त्र स्रोतबाट पुष्टि गर्न आवश्यक छ ।
