भारत-पाकिस्तान द्वन्द्वको फिल्म ‘उड्ता तीर’ नेपालमा प्रतिबन्ध
काठमाडौं । आयुष्मान खुराना र सारा अली खान अभिनीत बलिउड फिल्म ‘उड्ता तीर’लाई नेपालमा सार्वजनिक प्रदर्शनको अनुमति दिइएको छैन । भारत-पाकिस्तानसँग सम्बन्धित कथावस्तु रहेको फिल्मलाई सञ्चार मन्त्रालयले कानुनी प्रावधान देखाउँदै रोकेको हो ।
सूचना तथा सञ्चार मन्त्रालयले वितरक नेसनल सिने ग्रुप नेपाललाई पत्र पठाउँदै निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ को दफा ८(३) अनुसार फिल्म प्रदर्शन गर्न अनुमति दिन नसकिने जनाएको छ । केन्द्रीय चलचित्र जाँच समितिले फिल्मको परीक्षण गरेपछि यस्तो निर्णय भएको हो ।
त्यस्तै, फिल्मको कथावस्तु भारत-पाकिस्तान सम्बन्धसँग जोडिएको छ । चलचित्रमा पाकिस्तानी जासुस भारतमा एउटा गोप्य मिसनका लागि पुग्छन् । तर, स्मरणशक्ति गुमाएपछि उनले आफूलाई भारतीय देशभक्त ठान्न थाल्छन् । यही घटनाक्रमबाट फिल्मको हास्य र जासुसी कथा अघि बढ्छ ।
नेपालको कानुनले नेपालको सुरक्षा, शान्ति तथा व्यवस्था वा मित्रराष्ट्रसँगको सम्बन्धमा प्रतिकूल असर पार्ने देखिएका चलचित्रलाई प्रदर्शन अनुमति नदिने व्यवस्था गरेको छ । यही कानुनी प्रावधानका आधारमा फिल्मको प्रदर्शन रोकिएको हो ।
आकाश कौशिकको लेखन तथा निर्देशन रहेको ‘उड्ता तीर’मा आयुष्मान खुराना र सारा अली खान मुख्य भूमिकामा छन् । धर्मा प्रोडक्सन्स र सिख्या इन्टरटेन्मेन्टले निर्माण गरेको यो हिन्दी स्पाई-कमेडी फिल्म अक्टोबर २३ मा प्रदर्शन गर्ने तयारी थियो ।
नेपालमा फिल्मको प्रदर्शन रोकिएसँगै भारत-पाकिस्तान द्वन्द्वमा आधारित चलचित्रको विषयवस्तु र त्यसको सार्वजनिक प्रदर्शनसम्बन्धी कानुनी व्यवस्थाबारे चासो बढेको छ ।
