जीवनका लागि ब्रह्माण्डकै सुरक्षित ठाउँमध्ये एक मिल्की वे, वैज्ञानिकको नयाँ खुलासा
ब्रह्माण्डका सबै ठाउँ जीवनका लागि सुरक्षित छैनन्। कतै विशाल ताराहरू विस्फोट भइरहेका छन्, कतै आकाशगंगाहरू आपसमा ठोक्किइरहेका छन् भने कतै शक्तिशाली विकिरणले ग्रहको वायुमण्डलसमेत नष्ट गर्न सक्छ। यस्ता विनाशकारी घटनाबाट बच्दै जीवन विकास हुन सक्ने स्थान पहिचान गर्न वैज्ञानिकहरूले ब्रह्माण्डको विस्तृत अध्ययन गरेका हुन्।
कम्प्युटरमा तयार पारिएका ब्रह्माण्डका नमुना प्रयोग गरेर गरिएको अध्ययनले मिल्की वेको बाहिरी भागतिर रहेको सूर्यको स्थान जीवनका लागि निकै अनुकूल रहेको देखाएको छ। यो अनुसन्धान वैज्ञानिक जर्नल मन्थ्ली नोटिसेस अफ द रोयल एस्ट्रोनोमिकल सोसाइटी मा प्रकाशित भएको हो।
ताराको वरिपरि ग्रहमा तरल पानी रहन सक्ने उपयुक्त तापक्रम भएको क्षेत्रलाई जीवनयोग्य क्षेत्र भनिन्छ। यसलाई ‘गोल्डिलक्स क्षेत्र’ पनि भनिन्छ। कुनै ग्रह आफ्नो ताराबाट धेरै नजिक भएमा अत्यधिक तातो र धेरै टाढा भएमा अत्यधिक चिसो हुन सक्छ। त्यसैले ग्रह र ताराबीचको दूरी जीवनको सम्भावना निर्धारण गर्ने महत्त्वपूर्ण आधार हो।
तर जीवनका लागि उपयुक्त अवस्था ग्रह र ताराबीचको दूरीमा मात्र निर्भर हुँदैन। आकाशगंगाभित्र ग्रह रहेको स्थानले पनि महत्त्वपूर्ण भूमिका खेल्छ। आकाशगंगाको केन्द्रमा ताराहरूको चाप बढी हुने भएकाले त्यहाँ ग्रह प्रणालीको स्थिरतामा असर पर्न सक्छ। अर्कोतर्फ, आकाशगंगाको बाहिरी भागमा जीवनका लागि आवश्यक भारी रासायनिक तत्त्व पर्याप्त नहुन सक्छन्।
पृथ्वी सूर्यको वरिपरि जीवनका लागि उपयुक्त क्षेत्रमा रहेझैँ सूर्य पनि मिल्की वेको जीवनयोग्य क्षेत्रमा अवस्थित छ। आकाशगंगाभित्रको यस्तो अनुकूल क्षेत्रलाई ‘आकाशगंगीय जीवनयोग्य क्षेत्र’ भनिन्छ।
यस विषयमा अध्ययन गर्न वैज्ञानिकहरूले ईगल नामक परियोजनाअन्तर्गत तयार पारिएका ब्रह्माण्डका नमुना प्रयोग गरेका थिए। यस परियोजनाले अन्तरिक्षको विस्तार, गुरुत्वाकर्षण, ग्यास, ताराहरू र कृष्णविवर अर्थात् ब्ल्याक होलको विकाससम्बन्धी प्रक्रियालाई समेट्छ। यसबाट करोडौँ प्रकाशवर्षसम्म फैलिएको ब्रह्माण्डमा आकाशगंगाहरू कसरी बने र विकसित भए भन्ने विषयको अध्ययन गर्न सकिन्छ।
ब्रह्माण्डमा बाह्य जीवन रहेको प्रत्यक्ष प्रमाण अहिलेसम्म फेला परेको छैन। त्यसैले वैज्ञानिकहरूले जीवन उत्पन्न हुन आवश्यक अवस्थालाई आधार बनाएर अनुसन्धान गरेका हुन्। ब्रह्माण्डको प्रारम्भमा बनेका हाइड्रोजन र हिलियमजस्ता हल्का तत्त्व मात्रले जीवनका लागि आवश्यक जटिल संरचना निर्माण गर्न सक्दैनन्। ताराहरूको विकास र विस्फोटबाट बनेका भारी तत्त्वले चट्टानी ग्रह निर्माण गर्न तथा जीवनका लागि आवश्यक रासायनिक आधार उपलब्ध गराउन मद्दत गर्छन्।
तर भारी तत्त्वको उपलब्धता मात्रले जीवनको सम्भावना सुनिश्चित गर्दैन। केही ग्रह प्रणालीमा अत्यधिक तातो ग्यासीय विशाल ग्रहसमेत बन्न सक्छन्। यस्ता ग्रहलाई ‘हट जुपिटर’ भनिन्छ। तिनीहरू आफ्नो कक्ष परिवर्तन गर्दै तारातर्फ सर्दा अन्य चट्टानी ग्रहको निर्माण वा अस्तित्वमा बाधा पुर्याउन सक्छन्। यसले जीवनका लागि आवश्यक वातावरण बिगार्न सक्ने वैज्ञानिकहरूको आकलन छ।
विशाल ताराहरूको विस्फोट पनि जीवनका लागि ठूलो खतरा हो। यस्ता विस्फोटले नजिकका ग्रहमा जीवन नष्ट गर्न सक्छन्। अझ शक्तिशाली गामा किरण विस्फोटले निकै ठूलो क्षेत्रलाई प्रभावित पार्न सक्छ। करिब ४५ करोड वर्षअघि भएको अर्डोभिसियन सामूहिक विलुप्ति कुनै नजिकैको ब्रह्माण्डीय विस्फोटका कारण भएको हुन सक्ने सम्भावनासमेत केही जीवाश्मशास्त्रीले औँल्याएका छन्।
त्यस्तै, अर्को तारा हाम्रो सौर्यमण्डलको नजिकबाट गुज्रिएमा ग्रहहरूको कक्षमा गडबडी उत्पन्न हुन सक्छ। आकाशगंगाको केन्द्रमा रहेका विशाल कृष्णविवर पनि सम्भावित जोखिमका स्रोत हुन्। सूर्यको भन्दा लाखौँ गुणा बढी पिण्ड भएका यस्ता कृष्णविवर सक्रिय हुँदा शक्तिशाली विकिरण उत्सर्जन गर्न सक्छन्। यसले ग्रहको वायुमण्डल नष्ट गर्न सक्ने भएकाले त्यस्ता क्षेत्र जीवनका लागि कम अनुकूल मानिन्छन्।
वैज्ञानिकहरूको निष्कर्षअनुसार, मिल्की वेजस्ता आकाशगंगाले आफ्नो प्रारम्भिक ऊर्जाशील र अशान्त अवस्था पार गरिसकेका छन्। अहिले तिनीहरू तुलनात्मक रूपमा शान्त अवस्थामा छन्। यसले ग्रहमा जीवनको विकास र अस्तित्वका लागि आवश्यक स्थिर वातावरण उपलब्ध गराउन सहयोग पुर्याएको छ।
अध्ययनले आगामी एक अर्ब वर्षको अवधिमा मिल्की वेका एक हजार तारामध्ये एकभन्दा कम ताराले जीवनलाई पूर्ण रूपमा नष्ट गर्न सक्ने चरम घटना अनुभव गर्ने देखाएको छ। यसको अर्थ मिल्की वेका सबै ग्रह सुरक्षित छन् भन्ने होइन। तर समग्रमा यहाँ जीवनका लागि विनाशकारी घटनाको जोखिम तुलनात्मक रूपमा कम रहेको अनुसन्धानले देखाएको छ।
यसको विपरीत, आकारमा साना आकाशगंगामा ताराहरूको घनत्व र ऊर्जाशील गतिविधि बढी हुन सक्ने भएकाले त्यहाँ जीवनका लागि अनुकूल वातावरण कायम राख्न कठिन हुन सक्छ। यस्ता आकाशगंगा संख्याका हिसाबले मिल्की वेजस्ता ठूला आकाशगंगाभन्दा धेरै छन्।
यद्यपि, मिल्की वे जीवनका लागि अनुकूल हुनु र त्यहाँ पृथ्वीबाहेक अन्यत्र पनि जीवन रहेको प्रमाणित हुनु फरक विषय हुन्। अनुसन्धानले जीवन उत्पन्न हुन सक्ने सम्भावना भएका क्षेत्र पहिचान गरे पनि त्यहाँ वास्तवमै जीवन छ वा छैन भन्ने प्रश्नको उत्तर अझै प्राप्त भएको छैन।
