`

दसैँ मनाउन उपत्यका छाड्नेको लर्को, अहिलेसम्म साढे ५ लाखभन्दा बढी बाहिरिए

Nepal One HD ४ कार्तिक २०८३ १२:१९
समाचार

काठमाडौं । बडादसैँ मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको सङ्ख्या दिनहुँ बढ्दै गएको छ। घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८ जना यात्रुले उपत्यका छाडिसकेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त अवधिमा ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत यात्रुहरू विभिन्न जिल्ला गएका हुन्। दसैँ नजिकिँदै जाँदा अध्ययन, रोजगारी तथा व्यवसायका सिलसिलामा उपत्यकामा बसोबास गर्दै आएका नागरिक जन्मथलो फर्किन थालेपछि प्रमुख नाकाहरूमा यात्रुको चाप बढेको छ।

उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार उपत्यका छाड्ने यात्रुमध्ये दुई लाख २७ हजार ७५५ जना महिला र तीन लाख ४८ हजार ८२३ जना पुरुष छन्। घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनमा समेत यात्रुको चाप बढ्दै गएको छ।

त्यस्तै, दसैँका लागि घर फर्किने यात्रुको चाप बढेपछि नागढुङ्गा, फर्पिङ, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडालगायतका नाकामा सवारीसाधनको आवागमन बाक्लिएको छ। विभिन्न जिल्लातर्फ जाने यात्रु सार्वजनिक बस तथा अन्य सवारीसाधनमार्फत गन्तव्यतर्फ प्रस्थान गरिरहेका छन्।

चाडपर्वका बेला यात्रुको सुरक्षा सुनिश्चित गर्न र सम्भावित सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले चौबीसै घण्टा सडकमा निगरानी बढाएको छ। यात्रुको आवागमन सहज बनाउने, सवारीसाधनको चाप व्यवस्थापन गर्ने र दुर्घटनाको जोखिम घटाउने उद्देश्यले ट्राफिक प्रहरी परिचालन गरिएको छ।

ट्राफिक प्रहरीले लामो दूरीको यात्रा गर्दा सवारीसाधनको अवस्था, चालकको स्वास्थ्य र लगातार सवारी चलाइएको समयबारे ध्यान दिन आग्रह गरेको छ। साथै, यात्रु तथा चालक दुवैले सावधानी अपनाए सम्भावित दुर्घटना न्यूनीकरण गर्न सकिने प्रहरीले जनाएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *