पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २५ शय्याको नयाँ सघन उपचार कक्ष सञ्चालन
प्रतिष्ठानका निर्देशक डा. झपिन्द्र पोखरेलका अनुसार नयाँ कक्षमा १६ शय्याको सघन उपचार कक्ष, आठ शय्याको कोरोनरी केयर युनिट र एक शय्याको आइसोलेसन आईसीयू रहेको छ। यसअघि अस्पतालमा १० शय्याको आईसीयू सञ्चालनमा थियो।
त्यस्तै, सघन उपचारका लागि आउने बिरामीको चाप बढ्दै गएपछि अस्पतालले थप पूर्वाधार निर्माण गरी नयाँ कक्ष सञ्चालनमा ल्याएको हो। यसका लागि प्रतिष्ठानले एक करोड रुपैयाँ लगानी गरेको निर्देशक पोखरेलले जानकारी दिए।
उनका अनुसार बिरामीको चापलाई ध्यानमा राख्दै थप उपचार कक्ष र शय्या सञ्चालनमा ल्याइएको हो। नयाँ पूर्वाधारले सघन उपचार सेवा विस्तार गर्न सहयोग पुग्नेछ।
गण्डकी प्रदेशको सुविधासम्पन्न सरकारी अस्पतालका रूपमा रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा प्रदेशका ११ वटै जिल्लाका साथै अन्य जिल्लाबाट समेत बिरामी उपचारका लागि आउने गरेका छन्। अस्पतालले दैनिक करिब दुई हजार बिरामीलाई सेवा प्रदान गर्दै आएको छ।
