बालेन सरकारको नियति पनि जालन्धरकै जस्तो हुन सक्छ : महेश बस्नेत
काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनबाट प्राप्त शक्तिको उन्मादमा बालेन सरकारले जनताको आवाज दबाउन खोजे त्यसको परिणाम प्रत्युत्पादक हुन सक्ने टिप्पणी गरेका छन्।
बस्नेतले शिवजीको आशीर्वादबाट शक्ति प्राप्त गरेका जालन्धरले शक्तिको उन्मादमा शिवजीकै शिरमा हात राख्न खोज्दा अन्ततः आफ्नै विनाश निम्त्याएको पौराणिक प्रसङ्ग उल्लेख गर्दै बालेन सरकारको सम्भावित नियतिसँग तुलना गरेका हुन्।
उनले भनेका छन्, ‘यदि यो समाचार सत्य हो भने, शिवजीको आशीर्वादबाट शक्ति प्राप्त गरेका जालन्धर शक्तिको उन्मादमा शिवजीकै शिरमा हात राख्न खोज्दा आफ्नो शक्ति उन्मादमा आफ्नै शिरमा हात आफैँ भष्म भएझैँ, जेनजी आन्दोलनको आडमा बनेको बालेन सरकारको नियति पनि त्यस्तै नहोला भन्न सकिँदैन।’
बस्नेतले जेनजी आन्दोलनबाट प्राप्त शक्तिलाई जनताकै आवाज दबाउन र युवा अभियन्ताहरूमाथि निगरानी राख्न प्रयोग गरिए इतिहासले त्यसको कठोर जवाफ दिने चेतावनीसमेत दिएका छन्।
उनले थप भनेका छन्, ‘जनताको शक्तिलाई आफ्नो निजी शक्ति ठान्नु र शक्तिको उन्मादमा आफ्नै आधारलाई चुनौती दिनु नै पतनको सुरुवात हो।’
बस्नेतको यो अभिव्यक्ति राज्यको निगरानीमा रहेको दाबी गरिएका ६ जेनजी नेताको तस्बिर सार्वजनिक भएपछि आएको हो। उनले स्टाटस लेख्दै राखेका दुई तस्बिरमा रक्षा बम, मिराज ढुंगाना, माजिद अन्सारी, जस्मिन ओझा, तनुजा पाण्डे र रविकिरण हमालको नाम उल्लेख गरिएको छ।
