`

एमाले वरिष्ठ नेता चीनतर्फ

Nepal One HD ६ कार्तिक २०८३ १३:१७
नेकपा एमाले

काठमाडौं । पूर्वराष्ट्रपति तथा नेकपा एमाले वरिष्ठ नेता विद्यादेवी भण्डारी अन्तर्राष्ट्रिय सम्मेलन ‘ग्लोबल गभर्नेन्स फोरम’मा सहभागी हुन बिहीबार चीन प्रस्थान गरेकी छन्। चीनको हपवे प्रदेशस्थित स्योङआनमा अक्टोबर २३ देखि २५ सम्म सञ्चालन हुने सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ गएकी हुन्।

‘परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण’ मूल विषय रहेको सम्मेलनमा भण्डारीले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ।

तीन दिनसम्म चल्ने सम्मेलनमा विश्वव्यापी शासन प्रणालीलाई थप प्रभावकारी बनाउने उपाय, अन्तर्राष्ट्रिय सहकार्यको सुदृढीकरण र विश्व व्यवस्थामा देखिएका चुनौतीबारे छलफल हुने अपेक्षा गरिएको छ। सम्मेलनअन्तर्गत अक्टोबर २४ र २५ मा विभिन्न विषयगत सत्र, प्यानल छलफल तथा गोलमेच बैठक आयोजना गरिनेछन्।

सम्मेलनमा संयुक्त राष्ट्रसंघमा आधारित अन्तर्राष्ट्रिय प्रणालीको संरक्षण, विश्व शान्ति कायम गर्ने प्रयास र शान्ति स्थापनासम्बन्धी संरचनामा आवश्यक सुधारका विषयले प्राथमिकता पाउनेछन्। त्यस्तै, बहुपक्षीय सहकार्यको प्रवर्द्धन, अन्तर्राष्ट्रिय सम्बन्धमा विकासशील राष्ट्रहरूको बढ्दो प्रभाव तथा विश्व व्यापारमा ग्लोबल साउथका मुलुकहरूको भूमिकाबारे पनि विमर्श हुनेछ।

यसका अतिरिक्त जलवायु परिवर्तनका चुनौती र त्यसको प्रभाव न्यूनीकरण, हरित अर्थतन्त्र तथा न्यून कार्बन उत्सर्जनमा आधारित विकास, दिगो विकासका लक्ष्य र प्रविधिको बदलिँदो भूमिकामाथि समेत छलफल गरिने कार्यक्रम छ। कृत्रिम बौद्धिकता (एआई) र साइबर स्पेससँग सम्बन्धित विषय पनि सम्मेलनको कार्यसूचीमा समावेश छन्।

विश्व राजनीतिमा बदलिँदो शक्ति सन्तुलन, आर्थिक अन्तरनिर्भरता र नयाँ प्रविधिका कारण उत्पन्न चुनौतीका बीच अन्तर्राष्ट्रिय विश्वास तथा सहकार्यलाई कसरी पुनःस्थापित गर्न सकिन्छ भन्ने विषय सम्मेलनको मुख्य सरोकार रहनेछ। विभिन्न देशका प्रतिनिधि तथा विज्ञहरूको सहभागितामा हुने छलफलले विश्वव्यापी शासन प्रणाली, विकास र अन्तर्राष्ट्रिय सम्बन्धका विविध पक्षमा विचार आदानप्रदान गर्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *