साइबर सुरक्षा जोखिमपछि बैंक तथा सरकारी निकायका वेबसाइट बन्द
काठमाडौं । पीएचपी प्रोग्रामिङ भाषामा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि नेपालका बैंक तथा वित्तीय संस्था, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोषलगायत विभिन्न सरकारी निकायले आफ्ना वेबसाइट अस्थायी रूपमा बन्द गरेका छन्। सम्भावित साइबर आक्रमणबाट जोगिन सावधानीस्वरूप वेबसाइट बन्द गरिएको हो। सम्बन्धित संस्थाहरूले हालसम्म ग्राहकको तथ्याङ्क वा वित्तीय सम्पत्तिमा क्षति पुगेको विवरण प्राप्त नभएको जनाएका छन्।
नेपाल राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक, भुक्तानी सेवा प्रदायक र रेमिट्यान्स कम्पनीहरूलाई साइबर सुरक्षा प्रणाली बलियो बनाउन आग्रह गरेको छ। केन्द्रीय बैंकले आवश्यकताअनुसार वेबसाइट अस्थायी रूपमा बन्द गर्न, सुरक्षा प्रणाली अद्यावधिक गर्न र नियमित निगरानी बढाउन निर्देशन दिएको हो।
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरु प्रसाद पौडेलका अनुसार वेबसाइट तथा अनलाइन सेवा सञ्चालन गर्न व्यापक रूपमा प्रयोग हुने पीएचपी प्रोग्रामिङ भाषामा गम्भीर सुरक्षा कमजोरी पहिचान भएको छ। सुरक्षा अनुसन्धानकर्ताहरूले कृत्रिम बुद्धिमत्तामा आधारित प्रणालीको सहयोगमा पीएचपीको कोड परीक्षण तथा विश्लेषण गर्ने क्रममा ती कमजोरी फेला पारेका थिए।
उक्त कमजोरीको दुरुपयोग भए प्रभावित सर्भरमा अनधिकृत पहुँच प्राप्त हुन सक्ने जोखिम छ। यही जोखिमलाई ध्यानमा राख्दै अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सीले पनि अक्टोबर २१ मा सम्बन्धित संस्थाहरूलाई तत्काल सुरक्षा उपाय अपनाउन आग्रह गरेको थियो। सुरक्षा कमजोरी तत्काल समाधान गर्न नसकिने अवस्थामा जोखिमयुक्त सेवा अस्थायी रूपमा बन्द गर्न सुझाव दिइएको थियो। त्यसपछि नेपालका बैंक तथा अन्य संस्थाले पनि सावधानीस्वरूप आफ्ना वेबसाइट बन्द गरेका हुन्।
वेबसाइट बन्द हुँदा ग्राहकले ब्याजदर, सेवा शुल्क, शाखा तथा एटीएमको विवरण, ऋणसम्बन्धी जानकारी, वित्तीय विवरण र अन्य सार्वजनिक सूचनामा पहुँच पाउन कठिन हुन सक्छ। वेबसाइटमार्फत सञ्चालन हुने अनलाइन आवेदन, खाता खोल्ने प्रक्रिया तथा केही इन्टरनेट बैंकिङ सेवासमेत प्रभावित हुन सक्छन्।
तर, वेबसाइट बन्द हुँदैमा बैंकका सबै सेवा ठप्प भएका छैनन्। नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाका अनुसार क्यूआरमार्फत हुने भुक्तानी र मोबाइल बैंकिङ सेवा सामान्य रूपमा सञ्चालन भइरहेका छन्। उनका अनुसार मुख्य समस्या बैंकका वेबसाइट र केही इन्टरनेट बैंकिङ सेवामा देखिएको छ। जोखिमको मूल्याङ्कन गरेपछि केही बैंक तथा वित्तीय संस्थाले आफ्ना वेबसाइट पुनः सञ्चालनमा ल्याइसकेका छन्।
पीएचपीमा देखिएको सुरक्षा कमजोरी नेपालमा मात्र सीमित छैन। यो प्रोग्रामिङ भाषा प्रयोग गर्ने अन्य देशका संस्थाका वेबसाइटसमेत जोखिममा पर्न सक्ने बताइएको छ। यद्यपि, हालसम्म बैंक तथा वित्तीय संस्था, तिनका ग्राहक वा अन्य पक्षको वित्तीय सम्पत्तिमा क्षति पुगेको विवरण प्राप्त नभएको सम्बन्धित संस्थाहरूले जनाएका छन्।
राष्ट्र बैंकका प्रवक्ता पौडेलले वेबसाइट बन्द गर्नु साइबर आक्रमण भएको प्रमाण नभई सम्भावित जोखिम नियन्त्रण गर्न अपनाइएको पूर्वसावधानी भएको स्पष्ट पारेका छन्। उनका अनुसार गम्भीर सुरक्षा कमजोरी सार्वजनिक भएपछि त्यसको दुरुपयोग हुने सम्भावना बढ्न सक्छ। त्यसैले जोखिमयुक्त प्रणाली पहिचान गर्ने, सुरक्षा अद्यावधिक गर्ने र तत्काल सुरक्षित बनाउन नसकिने प्रणालीलाई आवश्यकताअनुसार इन्टरनेटबाट अस्थायी रूपमा अलग गर्ने गरिन्छ। सरकारी निकायका केही वेबसाइट पनि यही सावधानीका कारण बन्द गरिएको उनले बताए। समस्या पीएचपीको पुरानो संस्करणमा मात्र सीमित नरहेको उनको भनाइ छ।
