`

हारको ‘स्ट्रिक-ब्रेक’ गर्दै उपाधी उचालेको लुम्बिनी

रामचन्द्र जोशी १० कार्तिक २०८३ १३:५७
खेलकुद

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उपाधि विजेता लुम्बिनी लायन्स तेस्रो संस्करणमा साविक विजेताका रूपमा मैदानमा उत्रिँदै छ। दोस्रो संस्करणको एनपीएल फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलोपटक एनपीएलको उपाधि जितेको थियो। यसपटक पनि लुम्बिनीको पहिलो खेल रोयल्ससँग हुँदैछ। 

गत वर्ष लुम्बिनीको उपाधि यात्रा सहज भने थिएन। प्रतियोगिताको लिग चरणमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको टोली एक समय प्रतियोगिताबाट बाहिरिने अवस्थामा पुगेको थियो। तर, निर्णायक समयमा उत्कृष्ट पुनरागमन गर्दै लगातार छ खेल जितेपछि लुम्बिनीले उपाधि आफ्नो नाममा लेखाउन सफल भयो।

लुम्बिनीले प्लेअफको इलिमिनेटरमा काठमाडौं गुर्खाजलाई चार विकेटले पराजित गरेको थियो। त्यसपछि दोस्रो क्वालिफायरमा विराटनगर किङ्सलाई ४० रनले हराउँदै फाइनलमा स्थान बनायो। फाइनलमा भने टोलीले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै ऐतिहासिक उपाधि जित्यो।

फाइनलमा सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्दै ८५ रनमा सबै विकेट गुमाएको थियो। जवाफमा लुम्बिनीले चार विकेट गुमाएर ८६ रन बनाउँदै लक्ष्य पूरा गर्‍यो। कठिन परिस्थितिबाट फर्किएर उपाधि जितेको लुम्बिनीका लागि यो जित केवल प्रतियोगिताको सफलता मात्र थिएन, टोलीको आत्मविश्वास र दबाबमा खेल्न सक्ने क्षमताको प्रमाण पनि थियो।

लुम्बिनी लायन्सको कप्तानी नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले गर्दै आएका छन्। नेपाली राष्ट्रिय टोलीका महत्त्वपूर्ण खेलाडीसमेत रहेका पौडेलको नेतृत्वमा लुम्बिनीले दोस्रो संस्करणमा उपाधि जितेको थियो। ब्याटिङ र नेतृत्व दुवै पक्षमा उनको भूमिका टोलीका लागि महत्त्वपूर्ण रह्यो।

दोस्रो संस्करणमा लुम्बिनीका बलरहरूले पनि प्रभावशाली प्रदर्शन गरेका थिए। शेर मल्लले १३ विकेट लिँदै टोलीका लागि सर्वाधिक विकेट लिने खेलाडीका रूपमा आफूलाई स्थापित गरेका थिए। रुबेन ट्रम्पेलम्यानले पनि १० विकेट लिँदै बलिङमा योगदान दिएका थिए। बलिङ र ब्याटिङबीचको सन्तुलनले लुम्बिनीलाई कठिन खेलहरूमा जित निकाल्न सहयोग गरेको थियो।

एनपीएलको पहिलो संस्करणमा जनकपुर बोल्ट्स च्याम्पियन बनेको थियो भने सुदूरपश्चिम रोयल्स उपविजेता बनेको थियो। दोस्रो संस्करणमा पनि सुदूरपश्चिम फाइनलसम्म पुगे पनि यसपटक लुम्बिनीले उपाधि जित्यो। यसले एनपीएलमा टोलीहरूबीचको प्रतिस्पर्धा र उपाधि दौड थप रोमाञ्चक बन्दै गएको देखाएको छ।

अब तेस्रो संस्करणमा लुम्बिनीका लागि चुनौती उपाधि जोगाउनु हुनेछ। साविक विजेताका रूपमा टोलीमाथि अपेक्षा र दबाब दुवै रहनेछन्। विपक्षी टोलीहरूले पनि लुम्बिनीको प्रदर्शन, खेलाडी संयोजन र रणनीतिलाई ध्यानमा राखेर मैदानमा उत्रिनेछन्। त्यसैले अघिल्लो संस्करणको सफलता दोहोर्‍याउन टोलीले निरन्तर राम्रो प्रदर्शन गर्नुपर्नेछ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *