धान भित्र्याउने चटारो, अर्मपर्मले धान्दै छ खेतीपाती [फोटो-फिचर]
पर्वत । पर्वतको फलेवास नगरपालिका–२ स्थित थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको छ।
गाउँका खेतबारीमा धान पाक्न थालेपछि किसानहरू बाली काट्ने, कुनिउँ लगाउने र दाइँ हालेर धान झाँट्ने काममा जुटेका छन्।
मौसमको अवस्था हेरेर किसानले बिस्तारै धान काट्न थालेका छन्। काटिएको धान खेतमै सुकाएर कुनिउँ लगाउने र त्यसपछि दाइँ हालेर धान झाँट्ने परम्परागत विधि यहाँ अझै प्रचलनमा छ। भौगोलिक कठिनाइ र आधुनिक थ्रेसर मेसिनको सहज उपलब्धता नहुँदा पहाडी भेगका किसान गोरु घुमाएर दाइँ हाल्ने पुरानै शैलीमा खेतीपाती गर्दै आएका छन्।
बिहानको पारिलो घामसँगै खेतका खलामा गोरु घुमाएर दाइँ हाल्ने दृश्यले थापाठाना फाँटमा गाउँले कृषि परम्पराको झल्को दिन्छ। गाउँबाट रोजगारी र अन्य अवसरको खोजीमा युवाहरू बाहिरिने क्रम बढ्दा कृषि क्षेत्रमा जनशक्तिको अभाव देखिए पनि किसानले पुस्तौँदेखि चल्दै आएको अर्मपर्मको चलन भने जोगाइरहेका छन्।
अर्मपर्मअन्तर्गत किसानहरू एकअर्काको खेतमा पालैपालो पुगेर धान काट्ने, बोक्ने र दाइँ हाल्ने काममा सघाउँछन्। यसले जनशक्तिको अभाव कम गर्नुका साथै वर्षभरि गरेको मेहनतको उपज समयमै घर भित्र्याउन सहयोग पुर्याएको छ। सामूहिक श्रम र आपसी सहयोगमा आधारित यो परम्परा गाउँको सामाजिक सम्बन्धसँगै खेतीपातीको महत्त्वपूर्ण आधार बनेको छ।
धान काट्ने र भित्र्याउने काम सकिएपछि किसानको व्यस्तता कोदो बालीतर्फ सर्नेछ। मंसिर–पुससम्म हिउँदको चिसो बढ्दै जाँदा गाउँघरमा खेतीपातीका कामले निरन्तरता पाउनेछन्।
थापाठाना फाँटका किसानका लागि अहिले पाकेको धान सुरक्षित रूपमा भित्र्याउनु नै मुख्य चटारो बनेको छ।








