आईजीपी कार्कीलाई राजीनामा दिन बालेन सरकारको दबाब
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि राजीनामा दिन सरकारको दबाब बढेको छ। प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)को सचिवालयले संदिग्ध गतिविधिको आरोपमा पक्राउ परेका इनम सापकोटासँग कार्कीको नाम जोडिएपछि उनलाई पद छाड्न आग्रह गरेको स्रोतको दाबी छ।
स्रोतका अनुसार आइतबार नै प्रधानमन्त्रीको सचिवालयबाट कार्कीलाई राजीनामा दिन भनिएको थियो। राजीनामा नदिए पदबाट हटाउने विकल्पमा जान सकिने चेतावनीसमेत दिइएपछि कार्की कानुनी परामर्शमा जुटेका छन्।
उनले आफूनिकट कानुन व्यवसायीसँग सम्भावित कदम र त्यसविरुद्ध अपनाउन सकिने कानुनी प्रक्रियाबारे छलफल गरिरहेको बताइएको छ। परामर्शमा संलग्न कानुन व्यवसायीहरूले सरकारले औपचारिक रूपमा कारबाही नगर्दै अदालत जानुभन्दा निर्णय आएपछि कानुनी उपचार खोज्नु उपयुक्त हुने सुझाव दिएको स्रोतको भनाइ छ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको पक्राउपछि उनीसँग सम्बन्धित व्यक्तिहरूबारे अनुसन्धान गर्ने क्रममा इनम सापकोटा पक्राउ परेको बताइएको छ। सापकोटाको मोबाइल परीक्षण गर्दा पक्राउ पर्नुभन्दा छ दिनअघि आईजीपी कार्कीसँग ह्वाट्सएपमा सम्पर्क भएको देखिएको दाबी गरिएको छ। यही विषयलाई लिएर प्रधानमन्त्रीको सचिवालयले कार्कीसँग स्पष्टीकरण खोजेको र राजीनामाका लागि दबाब दिएको स्रोतको भनाइ छ।
यद्यपि, प्रहरी वृत्तमा भने सापकोटा प्रकरण कार्कीलाई हटाउने प्रयासको एउटा माध्यम मात्र भएको चर्चा छ। प्रधानमन्त्रीको सचिवालयका केही सदस्य सुरुदेखि नै कार्कीसँग असन्तुष्ट रहेको र उनलाई पदबाट हटाउने अवसरको खोजीमा रहेको स्रोतको दाबी छ।
यसअघि सार्वजनिक लेखा समितिमा बेनामी उजुरी दर्ता गराएर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारमार्फत कार्कीमाथि दबाब सिर्जना गर्ने प्रयास भएको पनि स्रोतले जनाएको छ। आईजीपी कार्की र सांसद सुनारबीच मनमुटाव रहेको तथा सुनारले प्रधानमन्त्रीको सचिवालयमा कार्कीलाई हटाउन निरन्तर दबाब दिँदै आएको दाबीसमेत गरिएको छ।
त्यसबेला सुनारले लगाएका आरोपको खण्डन गर्दै कार्कीले ‘हामी कस्ताबाट शासित हुन अभिशप्त छौँ’ भन्ने टिप्पणी गरेका थिए। तर, यी घटनाक्रम र आरोपबारे सम्बन्धित पक्षको आधिकारिक धारणा सार्वजनिक नभएसम्म तिनलाई पुष्टि भएका तथ्यका रूपमा लिन सकिँदैन।
कार्कीलाई पदमा राख्ने वा हटाउने भन्ने विषयमा सहमति नजुट्दा सोमबारका लागि निर्धारित मन्त्रिपरिषद्को नियमित बैठकसमेत प्रभावित भएको स्रोतको दाबी छ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तीर्थाटनका क्रममा भारतमा रहेकाले पनि बैठकको समयतालिका प्रभावित भएको बताइएको छ।
आईजीपी कार्कीको भविष्यबारे निर्णय लिन लामिछानेको भूमिका महत्त्वपूर्ण हुने स्रोतको भनाइ छ। उनी भारतबाट फर्किएपछि बुधबार अपराह्न मन्त्रिपरिषद् बैठक बोलाउने प्रधानमन्त्री शाहको तयारी रहेको बताइए पनि सहमति जुट्न नसक्दा बैठक बिहीबारका लागि सारिएको दाबी गरिएको छ।
