चक्रवाती आँधी ‘अर्नब’को असरले उडान प्रभावित हुन सक्ने, सतर्क रहन प्राधिकरणको आग्रह
काठमाडौं । भारतको आन्ध्र प्रदेश र विशाखापट्नम आसपास चक्रवाती आँधी ‘अर्नब’को प्रभाव पर्न सक्ने अनुमानपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षामा सतर्कता अपनाउन निर्देशन दिएको छ ।
प्राधिकरणले २८ अक्टोबर (११ कात्तिक) मा सुरक्षा परिपत्र जारी गर्दै वायुसेवा कम्पनी, विमानस्थल सञ्चालक तथा सम्बन्धित निकायलाई आवश्यक तयारी गर्न आग्रह गरेको हो ।
मौसम पूर्वानुमानअनुसार आँधीको प्रभावले नेपालका विभिन्न क्षेत्रमा मध्यमदेखि भारी वर्षा, चट्याङ, तीव्र हावाहुरी तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुन सक्ने सम्भावना छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा यसको प्रभाव बढी पर्न सक्ने तथा कर्णाली र सुदूरपश्चिमका केही क्षेत्रमा समेत असर देखिन सक्ने अनुमान गरिएको छ ।
बिहीबार (१२ कात्तिक) देखि शनिबार (१४ कात्तिक) सम्म प्रतिकूल मौसमको सम्भावना रहेकाले उडान तथा अवतरणमा समस्या आउन सक्ने प्राधिकरणले जनाएको छ । भारी वर्षा, तीव्र हावाहुरी र कम दृश्यताले विमानस्थल सञ्चालन तथा धावनमार्गमा समेत असर पार्न सक्ने भएकाले सतर्कता अपनाउन भनिएको छ ।
प्राधिकरणले मौसमअनुसार उडान व्यवस्थापन गर्न, आवश्यकताअनुसार उडान मार्ग परिवर्तन गर्न र जोखिम देखिए जहाजलाई आकाशमै प्रतीक्षामा राख्न वा वैकल्पिक विमानस्थलमा अवतरण गराउने व्यवस्था मिलाउन निर्देशन दिएको छ । प्रतिकूल मौसममा जहाजबीच सुरक्षित दूरी कायम गर्न र हावाको गति तथा दिशामा अचानक परिवर्तन हुने अवस्था (विन्ड सियर) लगायतका जोखिमबारे चालक दललाई समयमै जानकारी गराउन पनि भनिएको छ ।
त्यस्तै, वर्षाका कारण धावनमार्गमा पानी जम्ने वा सतह चिप्लिने जोखिम रहेकाले नियमित निरीक्षण गर्न प्राधिकरणले निर्देशन दिएको छ । विमानस्थलका बत्ती, सञ्चार उपकरण तथा अन्य अत्यावश्यक प्रणाली चालु अवस्थामा राख्न र कुनै समस्या देखिए तत्काल जानकारी गराउनसमेत भनिएको छ ।
वायुसेवा कम्पनी र उडान चालक दललाई उडानअघि मौसमको अवस्था मूल्यांकन गर्न, सम्भावित ढिलाइ तथा वैकल्पिक अवतरणको तयारी गर्न र पर्याप्त इन्धनको व्यवस्था मिलाउन आग्रह गरिएको छ ।
प्राधिकरणले हवाई ट्राफिक व्यवस्थापनका अत्यावश्यक पूर्वाधार, वैकल्पिक विद्युत् आपूर्ति तथा सञ्चार प्रणाली तयारी अवस्थामा राख्न र कुनै गम्भीर जोखिम वा सुरक्षा समस्या देखिए तत्काल जानकारी गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
