अमेरिका र जापानले जापानमै क्षेप्यास्त्र उत्पादन गर्ने
जापानका रक्षामन्त्री सिन्जिरो कोइजुमीले बुधबार अमेरिकी रक्षामन्त्री पीट हेग्सेथसँगको भेटपछि यस्तो जानकारी दिएका हुन्। उनका अनुसार ‘अपरेसन सुपरचार्ज’ अन्तर्गत उत्पादन गरिने क्षेप्यास्त्र एफ-३५ लडाकू विमानमा प्रयोग गरिनेछ। यद्यपि, उत्पादन केन्द्र र सम्झौतासम्बन्धी विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
कोइजुमीले क्षेत्रीय सुरक्षा अवस्था जटिल बन्दै गएकाले अमेरिका र जापानबीचको गठबन्धनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको बताए। दुवै देशले सम्भावित सुरक्षा चुनौतीको सामना गर्ने क्षमता बढाउनुका साथै अन्तर्राष्ट्रिय कानुनमा आधारित स्वतन्त्र र खुला क्षेत्रीय व्यवस्था कायम राख्नुपर्नेमा जोड दिएका छन्।
अमेरिकी रक्षामन्त्री हेग्सेथले पनि एसियामा शान्ति र स्थिरता कायम राख्न ट्रम्प प्रशासन प्रतिबद्ध रहेको बताएका छन्। दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) का रक्षामन्त्रीहरूसँगको बैठकमा उनले अमेरिकाले आफ्ना सहयोगी तथा साझेदार राष्ट्रहरूको सुरक्षा र हितको रक्षा गर्ने बताएका हुन्।
यसैबीच, अस्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्लेसले अमेरिका र अन्य सहयोगी राष्ट्रसँग मिलेर दक्षिण चीन सागरमा अन्तर्राष्ट्रिय कानुन तथा समुद्री आवागमनको स्वतन्त्रता कायम राख्न प्रयास जारी राख्ने बताएका छन्। गत वर्ष चिनियाँ जे-१६ लडाकू विमान अस्ट्रेलियाको पी-८ पोसाइडन निगरानी विमाननजिक आएर फ्लेयर छोडेको घटनापछि अस्ट्रेलियाले सुरक्षा चासो व्यक्त गरेको थियो।
दक्षिण चीन सागरमा चीनसहित फिलिपिन्स, भियतनाम, मलेसिया, ब्रुनाई र ताइवानले विभिन्न क्षेत्रमा आफ्नो दाबी गर्दै आएका छन्। यस क्षेत्रमा चीन र फिलिपिन्सका तटरक्षक तथा नौसेनाका जहाजबीच पटक-पटक तनाव उत्पन्न हुने गरेको छ। अमेरिकाले फिलिपिन्सका सैनिक, जहाज वा विमानमाथि सशस्त्र आक्रमण भएमा सन्धिगत प्रतिबद्धताअनुसार सहयोग गर्ने बताउँदै आएको छ।
यता, जापान र चीनबीच पनि पूर्वी चीन सागरका केही टापुलाई लिएर विवाद छ। दुवै देशले ती टापु तथा आसपासका समुद्री क्षेत्रमा आफ्नो अधिकार दाबी गर्दै आएका छन्। यस्तो अवस्थामा अमेरिका र जापानले क्षेप्यास्त्र उत्पादनमा सहकार्य गर्ने निर्णयलाई क्षेत्रीय सुरक्षा चुनौतीको सामना गर्न आफ्नो प्रतिरक्षा क्षमता विस्तार गर्ने प्रयासका रूपमा हेरिएको छ।
