आईजीपी दानबहादुरलाई हटाउन यस्ताेसम्म चलेखल
काठमाडौं । नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीलाई हटाउने खेलमा एआईजी मनोज केसीले ठूलो षड्यन्त्र रचेको खुलासा भएको छ।
रास्वपा सांसद खगेन्द्र सुनारसँग अत्यन्तै निकट मानिने नारायण भण्डारी र एआईजी केसी आईजीपी कार्कीलाई हटाउन सक्रिय रहेको अडियो सार्वजनिक भएको हो ।
नेपाल लिड नामको अनलाइनबाट सार्वजनिक अडियोमा आईजीपी कार्कीलाई पदबाट हटाउन भएको चलखेलबारे संवाद सुनिन्छ ।
गृहमन्त्री सुधन गुरुङको समर्थनमा कार्कीलाई हटाउन भण्डारी र एआईजी केसी सक्रिय रहेको अडियोबाट देखिन्छ।
केसी तिनै प्रहरी अधिकृत हुन्, जसलाई जेनजी विद्रेहपछि गठित सुशीला कार्की नेतृत्वको सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख बनाएको थियो ।
उनै एआईजी केसी आफ्नै संगठनका प्रमुख आईजीपी कार्कीलाई हटाउन गृहमन्त्री गुरुङदेखि सत्ताबाहिरका व्यक्ति नारायण भण्डारीसम्मको साँठगाँठमा लागेको अडियोमा सुनिन्छ ।
अडियोमा आईजीपी कार्की कहाँ गए, कोसँग भेट गरे र कति बजे भेट गरे भन्नेसम्म निगरानी गरिएको संवाद छ ।
केसीलाई बालेन सरकारनिकट प्रहरी अधिकृतका रूपमा चिनिन्छ । उनै केसी आफू आईजीपी बन्नका लागि यस्तो गतिविधिमा संलग्न भएको खुलासा भएको हाे ।
हालैका दिनमा विभिन्न सञ्चारमाध्यममा आईजीपी कार्कीलाई हटाउने तयारीमा बालेन सरकार लागेको आशयका समाचार प्रकाशित भएका थिए ।
ती समाचारको प्रहरी प्रधान कार्यालयले गत बिहीबार खण्डन गरेको थियो । त्यसको भोलिपल्ट शुक्रबार सञ्चारगृहबाटै प्रहरीले पत्रकारलाई पक्राउ पुर्जीबिनै नियन्त्रणमा लिएको थियो ।
उनीहरूलाई केही घण्टा हिरासतमा राखेर समाचारको स्रोत खोज्ने प्रयास गरिएको थियो ।
चौतर्फी विरोध भएपछि पत्रकारहरू रिहा भए । पत्रकार पक्राउ गर्न प्रधानमन्त्री बालेनको सचिवालयबाट आईजीपी कार्कीलाई बिहीबार पटकपटक निर्देशन दिइएको चर्चा पनि भएको थियो ।
अन्ततः शुक्रबार तीन जना पत्रकार पक्राउ परे । त्यसपछि आईजीपी कार्कीलाई समेत विवादमा तानियो ।
तर, यो घटनालाई आईजीपी कार्कीलाई बदनाम गर्ने र उनीप्रति नेपाली समाजमा गलत सन्देश प्रवाह गर्ने बालेन सरकारको रणनीतिका रूपमा कतिपयले व्याख्या गरेका छन् ।
यहीबीच बालेन सरकारका गृहमन्त्री सुधन गुरुङको समर्थन प्राप्त भनिएका भण्डारीले एआईजी केसीसँग आईजीपी कार्कीलाई हटाउने विषयमा प्रत्यक्ष संवाद गरेको अडियो सार्वजनिक भएको हो ।
संवादमा आईजीपी कार्कीले भोलिपल्ट शतप्रतिशत राजीनामा दिने दाबीसमेत गरिएको सुनिन्छ ।
रास्वपा सांसद खगेन्द्र सुनारनिकट मानिने भण्डारीले एआईजी केसीलाई ‘दाइ’ सम्बोधन गर्दै आईजीपी कार्कीको राजीनामा, अदालतमा मुद्दाको पेसी र गृहमन्त्री गुरुङसँग हुने भेटघाटबारे कुराकानी गरेको अडियोमा सुनिन्छ ।
यो अडियो सार्वजनिक भएपछि नेपाल प्रहरीको नेतृत्व परिवर्तनमा प्रहरी संगठनभित्रका केही प्रहरी अधिकृत र बाह्य व्यक्तिहरूले कसरी चलखेल गरिरहेका छन् भन्ने सार्वजनिक भएको छ ।
आईजीपी कार्की प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङले नरुचाएको प्रहरी नेतृत्व हुन् । गत असोजमा कार्कीलाई आईजीपी नबनाउन तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्यालमाथि चर्को दबाब दिएका थिए ।
अर्याल बालेन काठमाडौं महानगरपालिकाको मेयर हुँदा उनका कानुनी सल्लाहकार थिए । अर्यालले कार्कीलाई आईजीपी नियुक्त गरेपछि बालेनसँग उनको सम्बन्ध बिग्रिएको थियाे ।
जेनजी विद्रेहको क्रममा प्रहरीमाथि भएको आक्रमण र क्षतिलाई समेटेर आईजीपी कार्कीले ‘आमा म त खरानीबाट उठेर आएँ’ बोलको गीत लेखेका थिए । उक्त गीत निकै लोकप्रिय भएको थियो ।
जेनजी विद्राेहका क्रममा प्रहरी संगठनले भोगेको क्षति, प्रहरीलाई कमजोर बनाइएको अवस्था र प्रहरीमाथि भएको प्रहारबारे गीतले भाव व्यक्त गरेको थियो ।
भनिन्छ- उक्त गीतप्रति प्रधानमन्त्री बालेन र गृहमन्त्री सुधन असन्तुष्ट छन् । यही पृष्ठभूमिमा रगत खाने भन्ने रास्वपा सांसद खगेन्द्र सुनारलाई सार्वजनिक रूपमा अघि सार्ने र भित्रभित्रै उनीनिकट भण्डारीलाई परिचालन गरेर आईजीपी कार्कीलाई हटाउने षड्यन्त्र पर्दाफास भएको हो ।
