नवनियुक्त भारतीय राजदूत दलेला काठमाडौं आइपुगे
काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला मंगलबार काठमाडौं आइपुगेका छन् । राजदूतको जिम्मेवारी सम्हाल्न उनी काठमाडौं आएका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र मन्त्रालय र भारतीय राजदूतावासका अधिकारीहरूले स्वागत गरेका थिए । भारतीय विदेश मन्त्रालयले गत असोजको अन्तिम साता दलेलालाई नेपालका लागि राजदूत नियुक्त गरेको थियो ।
भारतीय विदेश सचिव विक्रम मिश्री बुधबारदेखि नेपालको भ्रमणमा आउँदैछन् । विदेश सचिवको भ्रमणअघि नै दलेला राजदूतको जिम्मेवारी सम्हाल्न काठमाडौं आइपुगेका हुन् ।
दलेला यसअघि भारतको विदेश मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) का रूपमा कार्यरत थिए । भारतले नेपालका लागि विदेश मन्त्रालयको सचिवस्तरमा कार्यरत करिअर कूटनीतिज्ञलाई राजदूत नियुक्त गरेको यो सम्भवतः पहिलोपटक हो ।
सन् २०२५ देखि विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिवको जिम्मेवारी सम्हाल्दै आएका दलेलाले यसअघि भुटानका लागि भारतीय राजदूतका रूपमा तीन वर्ष काम गरेका थिए ।
हालसम्म उनको जिम्मेवारीमा भारतको आर्थिक कूटनीति, ग्लोबल साउथका मुलुकहरूसँग विकास साझेदारी, अफ्रिकासँगको सहकार्य, बहुपक्षीय आर्थिक सम्बन्ध तथा नयाँ र उदाउँदा रणनीतिक प्रविधिसम्बन्धी विषयहरू पर्दै आएका छन् ।
सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका दलेलाको कूटनीतिक करियर इजरायलको तेल अभिभबाट सुरु भएको थियो । भारतीय विदेश मन्त्रालयका अनुसार उनले ब्रासिलिया, शिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डीसीस्थित भारतीय कूटनीतिक नियोगहरूमा काम गरेका छन् ।
सन् २००९ देखि २०११ सम्म उनले भारतको प्रधानमन्त्री कार्यालयमा निर्देशकका रूपमा जिम्मेवारी सम्हालेका थिए । उनको कूटनीतिक कार्यक्षेत्रमा दक्षिण एसियाली छिमेकी राष्ट्रहरू, पूर्वी एसिया, इन्डो–प्यासिफिक क्षेत्र, खाडी तथा मध्यपूर्व र अफ्रिकी मुलुकहरूसँगको सम्बन्धसमेत समेटिएको छ ।
दलेलाले सन् २००६ देखि २००७ सम्म भारतीय विदेश मन्त्रालयको नर्थ डिभिजनमा काम गरेका थिए । त्यसपछि सन् २०१६ देखि २०१९ सम्म सोही डिभिजनको सहसचिवका रूपमा कार्यरत रहे । उक्त अवधिमा उनले नेपाल र भुटानसँग भारतको सम्बन्धसम्बन्धी विषयलाई नजिकबाट हेरेका थिए ।
व्यापार तथा आर्थिक नीतिका क्षेत्रमा पनि उनको अनुभव छ । उनले नयाँ दिल्लीस्थित वाणिज्य विभागमा व्यापार नीति निर्देशकका रूपमा काम गरेका थिए । साथै, विश्व व्यापार संगठनमा भारतको स्थायी नियोगमा दुईपटक सेवा गरेका थिए ।
अमेरिकामा समेत विभिन्न कूटनीतिक जिम्मेवारी सम्हालेका दलेला भारतका महावाणिज्यदूतका रूपमा पनि कार्यरत थिए । उनले सन् २०११ देखि २०१४ सम्म वासिङ्टन डीसीस्थित भारतीय दूतावासमा राजनीतिक मामिलासम्बन्धी मन्त्री र सन् २०२० देखि २०२२ सम्म सहायक मिसन प्रमुखका रूपमा काम गरेका थिए ।
