`

डाक्टरको प्रवेश परीक्षामै लापरवाही!

Nepal One HD १९ कार्तिक २०८३ १८:१७
जीवनशैली/स्वास्थ्य

काठमाडौं । डाक्टर बन्ने सपना बोकेर वर्षौं मेहनत र लाखौं रुपैयाँ खर्चिएका विद्यार्थीको भविष्य निर्धारण गर्ने प्रवेश परीक्षामै लापरवाही भएको गुनासो सार्वजनिक भएको छ ।

चिकित्सा शिक्षा आयोगले सञ्चालन गर्ने साझा प्रवेश परीक्षामा प्रश्नपत्रको छपाइदेखि परीक्षा केन्द्रको व्यवस्थापन र अनुगमनसम्म कमजोरी देखिएको भन्दै परीक्षार्थीहरूले असन्तुष्टि जनाएका छन् ।

चिकित्सा शिक्षा अध्ययनका लागि हुने यो परीक्षा हजारौं विद्यार्थीको शैक्षिक र व्यावसायिक भविष्यसँग जोडिएको छ । प्रतिस्पर्धा चर्को छ, तयारी कठिन छ र लगानी पनि सानो छैन । तर, परीक्षार्थीको आरोप छ– आफ्नो भविष्यको फैसला गर्ने परीक्षामै आयोगको लापरवाहीले उनीहरूको मेहनतमाथि खेलवाड भइरहेको छ ।

एक परीक्षार्थीका अनुसार प्रश्नपत्रमा हिज्जे नमिल्ने, प्रश्न अस्पष्ट हुने र उत्तरकुञ्जी नै गलत हुने समस्या देखिने गरेको छ । प्रश्न बुझ्न र सही उत्तर छुट्याउनमै समय खर्चिनुपर्दा परीक्षार्थीले जानेको कुरा लेख्ने अवसरसमेत गुमाउनुपर्ने अवस्था आएको उनीहरूको गुनासो छ ।

त्यसमाथि परीक्षा हुनुअघि प्रश्नपत्र चुहिएको हल्ला चल्दा विद्यार्थी थप मानसिक तनावमा पर्ने गरेका छन् । परीक्षा निष्पक्ष र विश्वसनीय हुनुपर्नेमा यस्ता हल्ला र व्यवस्थापकीय कमजोरीले नतिजामाथि नै आशंका जन्माएको परीक्षार्थीहरूको भनाइ छ ।

परीक्षा केन्द्रको निरीक्षण र अनुगमनमा समेत एकरूपता नभएको भन्दै उनीहरूले आयोगलाई जिम्मेवार बन्न आग्रह गरेका छन् । प्रश्नपत्र निर्माणदेखि छपाइ, परीक्षा सञ्चालन र अनुगमनसम्मका प्रक्रिया चुस्त बनाउनुपर्ने उनीहरूको माग छ ।

विद्यार्थीको भविष्यसँग प्रत्यक्ष जोडिएको परीक्षामा त्रुटि दोहोरिइरहने तर जिम्मेवारी कसले लिने भन्ने प्रश्न अनुत्तरित रहने हो भने चिकित्सा शिक्षा आयोगको विश्वसनीयतामाथि थप प्रश्न उठ्ने देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *