गगन पक्राउ पर्ने चर्चा : नेताहरू भन्छन् – पक्राउ गरे चुप बस्दैनौँ
काठमाडौं । प्रहरी महानिरीक्षक परिवर्तनसँगै नेपाली कांग्रेसका सभापति गगन थापालाई पक्राउ गर्ने तयारी भइरहेको चर्चाले राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ ।
बिचौलिया भनिएका इनम सापकोटाको बयानलाई आधार बनाएर थापामाथि अनुसन्धान अघि बढाउने र पक्राउसम्मको तयारी भइरहेको प्रहरी स्रोतको दाबी छ ।
यद्यपि, बयानकै आधारमा पक्राउ गर्न मिल्ने पर्याप्त कानुनी आधार छ कि छैन भन्ने विषयमा निष्कर्ष ननिस्किएकाले तत्काल कदम नचालिएको स्रोतको भनाइ छ ।
सापकोटाले कांग्रेसको आधिकारिकता विवादमा १८ करोड रुपैयाँ खर्च भएको र त्यसमध्ये तीन करोड रुपैयाँ सर्वोच्च अदालतकी न्यायाधीश सारंगा सुवेदीलाई बुझाएको बयान दिएको बताइएको छ । तर, उक्त बयानको आधिकारिक पुष्टि तथा त्यसमा उल्लेखित आरोपको स्वतन्त्र पुष्टि हुन बाँकी छ ।
यहीबीच कांग्रेस नेताहरूले सार्वजनिक मञ्चबाटै सभापति थापामाथि सम्भावित पक्राउको प्रयासको विरोध गर्न थालेका छन् । महामन्त्री उदयशमशेर राणाले सरकारले थापामाथि प्रतिशोधपूर्ण कदम चाले कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।
बिहीबार नेपाली कांग्रेस क्षेत्र नम्बर १ ललितपुरले बज्रबाराहीमा आयोजना गरेको सरसफाइ तथा फूल रोप्ने कार्यक्रममा बोल्दै राणाले सरकारका गतिविधि लोकतान्त्रिक मूल्य, विधिको शासन र नागरिक अधिकारविपरीत रहेको आरोप लगाए ।
‘सभापति गगनकुमार थापामाथि सरकारले कुनै पनि गलत कदम चाल्यो भने कांग्रेस टुलुटुलु हेरेर बस्दैन,’ उनले भने, ‘त्यस्तो कदमको दृढतापूर्वक प्रतिरोध गर्छौं ।’
राणाले बिचौलिया इनम सापकोटाको बयानलाई आधार बनाएर थापालाई पक्राउ गर्ने प्रयास भइरहेको दाबीसमेत गरे । सरकारबाट प्रतिशोधपूर्ण व्यवहार भए पार्टीका नेता तथा कार्यकर्तालाई एकजुट भएर प्रतिवाद गर्न उनले आह्वान गरेका छन् ।
महामन्त्री राणाले निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पनि जोड्दै सरकारले प्रहरी नेतृत्वलाई गैरकानुनी गिरफ्तारीका लागि दबाब दिएको आरोप लगाए । आफूलाई मन नपरेका राजनीतिक नेता, व्यवसायी तथा कर्मचारीलाई कानुनी प्रक्रिया मिचेर पक्राउ गर्न खोजिएको र त्यसका लागि प्रहरी प्रशासनलाई प्रयोग गर्न खोजिएको उनको दाबी छ ।
कार्कीले गैरकानुनी गिरफ्तारी गर्न नमानेपछि सरकारले उनलाई पदबाट हटाएको राणाको आरोप छ । सुरक्षा निकायलाई राजनीतिक स्वार्थअनुसार परिचालन गर्न खोज्नु विधिको शासन र लोकतान्त्रिक व्यवस्थाका लागि गम्भीर विषय भएको उनले बताए ।
राणाले प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारमाथि व्यवसायी, राजनीतिक दलका नेता र कर्मचारीमाथि धरपकड बढाएको आरोप पनि लगाए । सञ्चारगृहमा प्रहरी पठाएर पत्रकार पक्राउ गरिएको घटनालाई स्मरण गर्दै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप भइरहेको दाबी गरे ।
न्यायालयमाथि पनि सरकारनिकट व्यक्तिहरूमार्फत प्रभाव पार्ने प्रयास भइरहेको उनको आरोप छ । राज्यका प्रमुख अंगलाई नियन्त्रणमा राख्ने प्रयत्न लोकतन्त्रका लागि चुनौती भएको भन्दै राणाले प्रधानमन्त्रीमाथि तानाशाही प्रवृत्ति देखाएको आरोप लगाए ।
सरकारका कदमविरुद्ध लोकतन्त्र, विधिको शासन र नागरिक अधिकारको पक्षमा रहेका राजनीतिक शक्ति तथा सचेत नागरिक एकजुट हुनुपर्ने उनको भनाइ छ ।
