काठमाडौंको हावा विषाक्त बन्दै
काठमाडौं । वर्षा रोकिएर सुक्खा मौसम सुरु हुनासाथ काठमाडौंको आकाशमा धुलो र धुवाँको पर्दा बाक्लिन थालेको छ । उपत्यकाको हावा दिनप्रतिदिन प्रदूषित बन्दै जाँदा सर्वसाधारणको स्वास्थ्यमा समेत जोखिम बढेको छ ।
स्विट्जरल्यान्डस्थित वायु गुणस्तर अनुगमन गर्ने संस्था आईक्यूएयरका अनुसार शुक्रबार बिहान काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १११ पुगेको छ । बिहीबार मध्यबानेश्वर क्षेत्रमा १५३ सम्म पुगेको प्रदूषण शुक्रबार बिहान सवा ९ बजेसम्म पनि १२७ को स्तरमा देखिएको थियो । संस्थाको पूर्वानुमानअनुसार आइतबारसम्मै उपत्यकाको हावा अस्वस्थकर रहने सम्भावना छ ।
काठमाडौं महानगरपालिकाको अनुगमन प्रणालीले पनि उपत्यकाका दर्जनभन्दा बढी क्षेत्रमा प्रदूषणको मात्रा बढेको देखाएको छ । स्वयम्भू, बालाजु, टेकु, डल्लु, थापाथली, क्षेत्रपाटी, जडिबुटी, असन, कमलादी, शान्तिनगर, चाबहिल, लैनचौर र हाँडीगाउँलगायत क्षेत्रमा वायु गुणस्तर अस्वस्थकर अवस्थामा पुगेको छ ।
प्रदूषण बढेपछि महानगरपालिकाले धुलो, धुवाँ र वायु प्रदूषण गराउने गतिविधि नियन्त्रण गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ । तर, सवारीसाधनको धुवाँ, निर्माणस्थलको धुलो र सुक्खा जमिनबाट उड्ने कणले उपत्यकाको वातावरणलाई थप जोखिमपूर्ण बनाउने गरेका छन् ।
विशेषगरी बालबालिका, वृद्धवृद्धा, दम तथा श्वासप्रश्वासका बिरामी र दीर्घरोगीका लागि यस्तो हावा बढी घातक मानिन्छ । हावामा मिसिएका पीएम २.५ नामका सूक्ष्म कण नाक र घाँटीको प्राकृतिक अवरोध पार गर्दै फोक्सोसम्म पुग्न सक्छन् । कतिपय कण रक्तप्रवाहमा समेत मिसिन सक्ने भएकाले दीर्घकालीन रूपमा गम्भीर स्वास्थ्य समस्या निम्तिने खतरा रहन्छ ।
वायु गुणस्तर सूचकांकमा पीएम २.५ को मात्रा १०१ देखि १५० सम्म पुग्दा संवेदनशील समूहका लागि अस्वस्थकर मानिन्छ । १५१ देखि २०० सम्म पुगेमा भने सबैका लागि जोखिमपूर्ण हुन्छ । विश्व स्वास्थ्य संगठनले पीएम २.५ को वार्षिक औसत मात्रा प्रतिघनमिटर हावामा ५ माइक्रोग्राम र २४ घण्टाको औसत १५ माइक्रोग्रामभन्दा बढी हुन नहुने मापदण्ड तोकेको छ ।
काठमाडौंमा हावा बिग्रिँदै गर्दा छिमेकी भारतको राजधानी नयाँदिल्लीमा प्रदूषणले झनै विकराल रूप लिएको छ । त्यहाँका विभिन्न क्षेत्रमा एक्यूआई ४०० नाघेपछि जनस्वास्थ्यमा गम्भीर जोखिम देखिएको छ ।
भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार शुक्रबार बिहान ८ बजे दिल्लीको एक्यूआई ४२२ पुगेको थियो । जवाहरलाल नेहरू स्टेडियम क्षेत्रमा ४२१ र नजफगढमा ४१४ मापन गरिएको छ । चाँदनी चोक क्षेत्रमा पनि एक्यूआई ३९१ पुगेको छ ।
सीपीसीबीको वर्गीकरणमा ४०१ देखि ५०० सम्मको एक्यूआईलाई गम्भीर अर्थात् ‘सिभियर’ अवस्था मानिन्छ । यस्तो अवस्थामा प्रदूषित हावाले स्वस्थ मानिसलाई समेत असर पार्न सक्छ भने पहिलेदेखि रोगसँग जुधिरहेका व्यक्तिको स्वास्थ्य झनै बिग्रन सक्छ ।
एक्यूआई ३०१ देखि ४०० सम्म रहे पनि लामो समयसम्म त्यस्तो हावामा सास फेर्दा श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम बढ्ने चेतावनी दिइएको छ । शून्यदेखि ५० सम्मको स्तरलाई मात्रै राम्रो र ५१ देखि १०० सम्मलाई सन्तोषजनक मानिन्छ ।
सुक्खा मौसमसँगै काठमाडौंको आकाश धमिलिँदै छ भने दिल्लीको हावा विषाक्तताको गम्भीर तहमा पुगेको छ । प्रदूषण नियन्त्रणमा समयमै प्रभावकारी कदम नचाल्ने हो भने यसको मूल्य सर्वसाधारणले स्वास्थ्य बिगारेर चुकाउनुपर्ने अवस्था आउन सक्छ ।
