`

दूरसञ्चार सङ्घको महासम्मेलनमा सहभागी हुन सञ्चारमन्त्री तिमिल्सिना कतार जाँदै

Nepal One HD २१ कार्तिक २०८३ २१:०१
प्रमुख खबर

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियू) को महासम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको दोहा जाने भएका छन् ।

मन्त्री तिमिल्सिना आगामी नोभेम्बर ७ देखि १३ सम्म दोहामा आयोजना हुने अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घको प्लेनिपोटेन्सियरी सम्मेलन (पीपी–२६) मा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् । भ्रमण टोलीमा मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेल र मन्त्रालयका एक अधिकारीसमेत रहनेछन् ।

संयुक्त राष्ट्रसङ्घको सूचना तथा सञ्चार प्रविधिसम्बन्धी विशिष्टीकृत निकाय अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घले विश्वव्यापी दूरसञ्चार मापदण्ड निर्धारण, रेडियो फ्रिक्वेन्सी तथा भूउपग्रह कक्षाको अन्तरराष्ट्रिय समन्वय र डिजिटल पहुँच विस्तारमा काम गर्दै आएको छ ।

प्रत्येक चार वर्षमा आयोजना हुने महासम्मेलन सङ्घको सर्वोच्च नीति निर्धारण गर्ने निकाय हो । सम्मेलनले संस्थाको आगामी कार्यदिशा, रणनीतिक प्राथमिकता र नेतृत्व चयन गर्नेछ ।

सम्मेलनका क्रममा सङ्घको उच्च व्यवस्थापन टोली, परिषद्का सदस्य राष्ट्र तथा रेडियो नियमावली बोर्डका सदस्य चयनका लागि हुने निर्वाचनमा नेपालले सहभागिता जनाउने र मतदान गर्ने कार्यक्रम रहेको छ । यसबाट अन्तरराष्ट्रिय दूरसञ्चार क्षेत्रका नीति निर्माण तथा निर्णय प्रक्रियामा नेपालको प्रतिनिधित्व सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

भ्रमणका क्रममा मन्त्री तिमिल्सिनाले विभिन्न मुलुकका समकक्षी मन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको मन्त्रालयले जनाएको छ । भेटवार्तामा दूरसञ्चार क्षेत्रको विकास, सेवाको गुणस्तर सुधार, डिजिटल पहुँच विस्तार तथा आधुनिक सञ्चार प्रविधिको उपयोगलगायत विषयमा अनुभव आदानप्रदान र सहकार्यका सम्भावनाबारे छलफल हुनेछ ।

अन्तरराष्ट्रिय दूरसञ्चार नीति निर्माणमा नेपालको सक्रिय सहभागिता बढाउनुका साथै डिजिटल रूपान्तरण र दूरसञ्चार क्षेत्रको आधुनिकीकरणका लागि अन्तरराष्ट्रिय सहकार्य विस्तार गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *