राजदूत बन्ने लाइनमा को-को?
काठमाडौं । सरकारले रिक्त रहेका नेपाली कूटनीतिक नियोगमा राजदूत नियुक्तिको तयारी तीव्र पारेको छ । जापान, अस्ट्रेलिया र दक्षिण अफ्रिकासहित विभिन्न मुलुकमा नयाँ राजदूत पठाउने गृहकार्य अघि बढाइएको हो ।
तिहारलगत्तै नियुक्ति प्रक्रिया अघि बढाउने गरी सरकारले तयारी गरिरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । केही मुलुकका लागि नाम छनोटको गृहकार्य सुरु भइसकेको छ भने बाँकी नियोगका लागि पनि प्रक्रिया अगाडि बढाउने तयारी छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट स्रोतका अनुसार जापानका लागि बैंकर अशोकशमशेर राणाको नाम प्रस्तावित छ । अस्ट्रेलियाका लागि भने हालका परराष्ट्र सचिव अमृतबहादुर राईलाई पठाउने विषयमा छलफल भइरहेको बताइएको छ ।
त्यस्तै, सार्क क्षेत्रका कुनै एक मुलुकका लागि पूर्वसचिव कृष्णहरि पुष्करको नाम चर्चामा छ । दक्षिण अफ्रिकाका लागि काठमाडौं विश्वविद्यालयका प्राध्यापक लक्ष्मण लामालाई राजदूत बनाउने विषय पनि चर्चामा ल्याइएको छ ।
जापानको राजदूतका रूपमा चर्चामा आएका अशोकशमशेर राणा बैंकिङ तथा आर्थिक क्षेत्रमा परिचित व्यक्ति हुन् । उनी नेपालका पहिलो गभर्नर तथा संस्थापक अर्थसचिव हिमालयशमशेर जबराका छोरा हुन् ।
पारिवारिक पृष्ठभूमिसँगै आफ्नै व्यावसायिक अनुभवका कारण उनको नाम कूटनीतिक नियुक्तिको चर्चामा आएको बताइन्छ ।
राणाले प्रारम्भिक शिक्षा ललितपुरस्थित सेन्ट जेभियर्स स्कुलबाट लिएका थिए । त्यसपछि बेलायतमा माध्यमिक तहको अध्ययन पूरा गरेका उनले अमेरिकाबाट विश्वविद्यालय तहको शिक्षा हासिल गरेको बताइएको छ ।
अन्तर्राष्ट्रिय शैक्षिक अनुभव, अंग्रेजी भाषामाथिको दख्खल र बैंकिङ क्षेत्रको लामो अनुभवलाई उनको सम्भावित नियुक्तिसँग जोडेर हेरिएको छ ।
अस्ट्रेलियाका लागि प्रस्तावित नामका रूपमा परराष्ट्र सचिव अमृतबहादुर राईको चर्चा छ । परराष्ट्र सेवामा लामो समय बिताएका राईलाई कूटनीतिक जिम्मेवारीसहित विदेशस्थित नेपाली नियोगमा पठाउने विषयमा सरकारले छलफल गरिरहेको स्रोतको दाबी छ ।
त्यस्तै, पूर्वसचिव कृष्णहरि पुष्करलाई सार्क क्षेत्रका कुनै एक मुलुकको जिम्मेवारी दिने गरी नाम अघि सारिएको बताइएको छ । दक्षिण अफ्रिकाका लागि प्राध्यापक लक्ष्मण लामाको नाम पनि चर्चामा छ ।
राजदूत नियुक्तिका लागि मन्त्रिपरिषद्बाट सिफारिस भएपछि संसदीय सुनुवाइको प्रक्रिया पूरा गर्नुपर्छ । संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि सम्बन्धित मुलुकबाट सहमति अर्थात् एग्रिमो प्राप्त गर्नुपर्ने व्यवस्था छ ।
