`

दशौं राष्ट्रिय खेलकुद मंसिर ८ देखि, ६ खेलबाट प्रतिस्पर्धा सुरु हुने

Nepal One HD २३ कार्तिक २०८३ १४:१३
खेलकुद

काठमाडौं । कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलहरू आगामी मंसिर ८ गतेदेखि सुरु हुने भएका छन् । प्रतियोगिताको प्राविधिक समितिबाट स्वीकृत खेल तालिकाअनुसार पहिलो दिनदेखि ६ विधामा प्रतिस्पर्धा सञ्चालन गरिनेछ ।

सुरुमा पुरुष तथा महिला क्रिकेट, पुरुष फुटबल, पुरुष तथा महिला ह्यान्डबल, महिला बास्केटबल, टेनिस र पौडीका खेल हुनेछन् ।

प्रतियोगितामा समावेश ३२ खेलमध्ये २३ वटा सुर्खेतमा आयोजना गर्ने तयारी छ । सुर्खेतमा एथ्लेटिक्स, क्रिकेट, फुटबल, हक्की, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, टेबल टेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, ह्यान्डबल, स्क्वास, बास्केटबल, आर्चरी, भारोत्तोलन, रग्बी, साइक्लिङ, ईस्पोर्ट्स र सेपाकताक्रोका प्रतिस्पर्धा हुनेछन् ।

अन्य खेलका लागि विभिन्न जिल्लामा स्थल तोकिएको छ । टेनिस र खो खो बर्दियामा, जुडो तथा कुस्ती सल्यानमा र शारीरिक सुगठन पश्चिम रुकुममा सञ्चालन हुनेछन् । त्यसैगरी आईटीएफ तेक्वान्दो दैलेख, बुद्धिचाल कालिकोट तथा पौडी र सुटिङ नेपालगञ्जमा आयोजना गरिनेछ ।

प्रतियोगिताका खेलहरू कर्णालीका सबै जिल्लामा भने पुग्ने छैनन् । हुम्ला, जुम्ला, जाजरकोट, मुगु र डोल्पामा कुनै पनि खेल आयोजना नहुने तालिकामा उल्लेख छ ।

दशौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन मंसिर १६ गते सुर्खेत रंगशालामा गरिनेछ । प्रतियोगिताको समापन समारोह भने मंसिर २७ गते आयोजना हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *