पटका पड्किँदा बालकको मृत्यु, युवक घाइते
काठमाडौं । पटका पड्काउँदा एक बालकको मृत्यु भएको छ । घटना पर्साको हो । आज बिहान जिल्लाको पकहाँमैनपुर गाउँपालिका–२, मधुबनीका स्थानीय मखु सहनीका पाँच वर्षीय छोराको पटका पड्काउने क्रममा जलेर मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक भानुभक्त अर्यालका अनुसार पटका पड्काउने क्रममा बालकको शरीरमा आगो लागेको थियो । जलेर बेहोस भएका उनलाई उपचारका लागि वीरगन्जस्थित तराई अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले पुष्टि गरेको छ । यसबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
यस्तै, उता बारामा पटका पट्काउँदा एक युवक घाइते भएका छन् । उनी हुन् जितपुर सिमरा उपमहानगरपालिका(६ घुसुकपुर टेंढाका १६ वर्षीय अफ्ताब मियाँ देवान । पटका पड्केर उनको दुवै तिघ्रा जलेको छ । प्रहरीका अनुसार उनलाई उपचारका लागि नारायणी अस्पताल वीरगञ्ज लगिएको छ ।
