पेरिसमा जी–७ को ध्यान युक्रेनतर्फ, अबु धाबीमा त्रिपक्षीय वार्ता
काठमाडाैँ। अमेरिकी विदेशमन्त्री मार्को रुबियो र जी–७ का सदस्य राष्ट्रका विदेशमन्त्रीहरूले युक्रेनलाई रुसी आक्रमणबाट जोगाउन आवश्यक सहयोगबारे छलफल गरेका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) को अबु धाबीमा रुस, युक्रेन र अमेरिकाबीच त्रिपक्षीय वार्ता सुरु भइरहेका बेला पेरिसमा जी–७ का विदेशमन्त्रीहरूले युक्रेनी समकक्षीसँग छलफल गरेका हुन् ।
युक्रेनी विदेशमन्त्री आन्द्री सिबिहाले सोमबार रुबियोसँग भेट गरेपछि फ्रान्सेली विदेश मन्त्रालयमा आयोजित जी–७ को बैठकमा सहभागी भए। अमेरिकी विदेश मन्त्रालयका अनुसार भेटमा रुस–युक्रेन युद्ध अन्त्य गर्ने प्रयास, ऊर्जा क्षेत्रको उत्थानशीलता र रक्षा सहयोगबारे छलफल भएको थियो ।
बैठकमा युक्रेनलाई दिइने रक्षा तथा सुरक्षा सहयोगका विषयमा पनि छलफल हुने अपेक्षा गरिएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले युक्रेनलाई दिँदै आएको सहयोग कटौती गरेपछि किएभ र युरोपेली मुलुकहरूमा चिन्ता बढेको छ । अमेरिका वा जी–७ का अन्य सदस्यले नयाँ सहयोग घोषणा गर्नेबारे भने स्पष्ट भइसकेको छैन ।
यसैबीच, अबु धाबीमा अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत स्टिभ विटकफ र जारेड कुसनरले रुसी तथा युक्रेनी अधिकारीहरूसँग वार्ता सुरु गरेका छन् । युद्ध अन्त्यका लागि हुने सम्भावित बृहत् वार्तामा युरोपेली मुलुकलाई समेत सहभागी गराउने विषय पनि छलफलको प्रमुख मुद्दा बनेको छ ।
यद्यपि, रुसले वार्तामा युरोपको सहभागिता अस्वीकार गर्दै रुस, युक्रेन र अमेरिकाबीचको त्रिपक्षीय ढाँचामै छलफल हुनुपर्ने अडान राखेको छ । अमेरिकी अधिकारीहरूका अनुसार बेलायत, जर्मनी, फ्रान्स, नेटो र युरोपेली सङ्घका प्रतिनिधि मुख्य वार्तामा सहभागी हुने छैनन् । उनीहरूले सम्भावित सुरक्षा प्रत्याभूति र दीर्घकालीन सुरक्षा व्यवस्थाबारे छुट्टै छलफल गर्नेछन् ।
जर्मन विदेशमन्त्री जोहान वाडेफुलले भने युरोपको सहभागिताबिना युद्धको समाधान सम्भव नहुने बताउनुभयो । रुबियोले पनि भविष्यमा प्रत्यक्ष वार्तामा युरोपलाई सहभागी गराउन अमेरिकालाई आपत्ति नरहेको तर त्यसका लागि अहिले उपयुक्त समय नभइसकेको बताए।
वार्ता सुरु हुनुअघि रुसले सोमबार युक्रेनको विद्युत् प्रणालीमा भीषण आक्रमण गरेको थियो । जवाफमा युक्रेनी सेनाले रुसको एक प्रमुख तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको जनाएको छ ।
दुवै पक्ष आ–आफ्ना अडानमा कायम रहेकाले युद्ध अन्त्यको सम्भावना अझै अनिश्चित देखिएको छ ।
