`

वसन्तपुरमा गणेश र भैरवको निवास निर्माण गर्दै काठमाडौं महानगर

Nepal One HD २५ कार्तिक २०८३ १८:३५
प्रमुख खबर

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले वसन्तपुरमा श्री गणेश र श्री भैरवको निवास निर्माण गर्न लागेको घोषणा गरेकी छन् ।

मंगलबार वसन्तपुरमा नेपाल संवत् ११४७ तथा म्हःपूजाको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले वसन्तपुरमै रहेको जग्गामा गणेश र भैरवको निवास निर्माण गरिने जानकारी दिइन् । उनका अनुसार आगामी मंसिर गते बिहान ६ बजे पूजाआजासहित उक्त भवनको शिलान्यास गरिनेछ ।

उनले भनिन्, ‘आज म यहाँहरूको माझ घोषणा गर्न चाहन्छु, काठमाडौं महानगरपालिकाले श्री गणेश र श्री भैरवको निवास बनाउँदै छ । यहाँहरूले देख्न सक्नुहुन्छ, त्यहाँ टेन्ट लागेको छ, त्यससँगै रहेको जग्गामा निवास निर्माण हुँदै छ । त्यसको ड्रइङ पनि हेर्न सक्नुहुन्छ । आगामी ५ गते बिहान ६ बजे पूजाआजासहित शिलान्यास गर्नेछौँ । आज यहाँहरू सबैलाई सामूहिक रूपमा निमन्त्रणा पनि दिन चाहन्छु ।’

डंगोलले नेपाल संवत् आन्दोलनले सांस्कृतिक जागरणसँगै राजनीतिक परिवर्तनका लागि पनि महत्वपूर्ण भूमिका खेलेको बताइन् । ४७ वर्षअघि नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउने र सांस्कृतिक पहिचान स्थापित गर्ने उद्देश्यले अभियान सुरु भएको उनको भनाइ थियो ।

उनले भनिन्, ‘आज हामीले ¥यालीमा सबैभन्दा बढी नयाँ पुस्तालाई बाजागाजा र आफ्नो मौलिक पोशाकमा देखिरहेका छौँ । ४७ वर्षअघि नेपाल संवत्लाई राष्ट्रियकरण गर्नुपर्छ, राष्ट्रिय स्तरमा यसको मूल्य र मान्यता हुनुपर्छ भन्ने उद्देश्यका साथ यसलाई पुनर्जीवित बनाउन अभियान सुरु भएको थियो ।’

उनले नेपाल संवत् आन्दोलन सुरु गर्ने स्वर्गीय पद्मरत्न तुलाधर र यसै वर्ष निधन भएका स्वर्गीय दुर्गालाल श्रेष्ठलाई स्मरण गर्दै उनीहरूप्रति श्रद्धाञ्जली व्यक्त गरिन् । साथै अभियानलाई निरन्तरता दिन सहयोग गर्ने अग्रजहरूप्रति आभार व्यक्त गरिन् ।

डंगोलले राष्ट्रिय विभूति शंखधर साख्वाको योगदानलाई सामाजिक उत्तरदायित्व र परोपकारको उदाहरणका रूपमा लिनुपर्ने बताइन् ।

उनले भनिन्, ‘शंखधर साख्वा नेपाल संवत्का संस्थापक मात्र होइन, समाजप्रतिको उत्तरदायित्व र परोपकारको प्रतीक पनि हुनुहुन्छ । व्यक्तिको महानता जीवनमा कति कमायौँ भन्ने कुराले होइन, समाजलाई कति दिन सक्यौँ र सकारात्मक परिवर्तनका लागि के योगदान गर्न सक्यौँ भन्ने कुराले मापन हुनुपर्छ ।’उनले लोककल्याणकारी राज्यको केन्द्रमा आम नागरिक हुनुपर्ने बताउँदै स्वास्थ्य, शिक्षा, न्याय र सामाजिक सुरक्षाका क्षेत्रमा नागरिकमैत्री नीति तथा कार्यक्रम आवश्यक रहेको उल्लेख गरिन् ।

काठमाडौं महानगरपालिकाले स्वास्थ्य आपत्कालीन सेवाका लागि बाइक एम्बुलेन्स सुरु गरेको र ४३ महिनासम्म सञ्चालन गरेको निःशुल्क कानुनी सहायता कार्यक्रमबाट एक लाखभन्दा बढी नागरिक लाभान्वित भएको उनले जानकारी दिइन् ।

त्यस्तै, काठमाडौंलाई उज्यालो र सुरक्षित सहर बनाउने अभियानअन्तर्गत अँध्यारा स्थानमा बत्ती जडान गर्ने योजना अघि बढाइएको उनले बताइन् । प्राविधिक कारणले यसपटक तिहारअघि टेन्डर प्रक्रिया पूरा हुन नसके पनि उक्त प्रयास जारी रहने उनको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *