छठको बिदाले दानबहादुर कार्कीको रिटको पेशी सर्यो
काठमाडौं । प्रहरी महानिरीक्षकबाट हटाइएपछि पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालत पुगेका दानबहादुर कार्कीको मुद्दा छठ पर्वको सार्वजनिक बिदाका कारण प्रभावित हुने भएको छ ।
सोमबारका लागि तोकिएको पेशी अदालत बन्द रहने भएपछि अर्को दिनलाई सर्ने भएको हो ।
कार्कीले आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षक पदबाट हटाइएको जिकिर गर्दै पुनर्बहालीको मागसहित सर्वोच्चमा रिट दिएका थिए । उनका कानुन व्यवसायीले बिहीबार नै निवेदन पेस गरे पनि प्रारम्भिक अध्ययनका क्रममा दर्ता हुन सकेको थिएन ।
पछि सर्वोच्च प्रशासनले रिट दर्ता गरी कात्तिक ३० गतेका लागि पेशी तोकेको थियो । तर, छठ पर्वको अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि कार्कीको रिटमाथिको सुनुवाइ तत्काल नहुने भएको छ ।
गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै छठको मुख्य दिन सार्वजनिक बिदा हुने जनाएको थियो । अस्ताउँदो सूर्यलाई अर्घ्य दिइने दिन सरकारले बिदा दिने निर्णय गरेसँगै अदालतको नियमित कामकारबाही पनि रोकिनेछ ।
यसअघि मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो । तर, कार्कीले उक्त पदको नियुक्तिपत्र अहिलेसम्म बुझेका छैनन् ।
