भीमफेदी दुर्घटना : शव उठाउन तयार मृतकका परिवार
काठमाडाैं । मकवानपुरको भीमफेदी गाउँपालिका-स्थित चिसापानी गढीमा भएको ईभी भ्यान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव उठाउन मृतकका परिवार सहमत भएका छन् । जिल्ला प्रशासन कार्यालय, दुर्घटना अध्ययन तथा छानबिन समिति र पीडित परिवारबीच भएको छलफलपछि शव उठाउने सहमति जुटेको हो ।
दुर्घटनामा मृत्यु भएकाका परिवारले संघीय सरकारसँग जनही १० लाख रुपैयाँ क्षतिपूर्ति, घाइतेको उपचार खर्च सरकारले बेहोर्नुपर्ने र परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने माग राख्दै बिहीबारदेखि शव बुझ्न अस्वीकार गरेका थिए । परिवारको असहमतिका कारण शवको पोस्टमार्टमसमेत हुन सकेको थिएन ।
आज जिल्ला प्रशासन कार्यालय मकवानपुरमा भएको छलफलपछि परिवार शव उठाउन तयार भएको दुर्घटना अध्ययन तथा छानबिन समिति संयोजकसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलले जानकारी दिए । उनका अनुसार सहमतिपछि शवको पोस्टमार्टम प्रक्रिया अघि बढाइएको छ ।
छलफलमा अध्ययन समितिको प्रतिवेदनमा पीडित पक्षका मागसमेत समेट्ने, कानुनबमोजिम पाउने राहत तथा क्षतिपूर्ति तत्काल उपलब्ध गराउन सरकारसँग पहल गर्ने र थप राहत तथा क्षतिपूर्तिका लागि जिल्ला प्रशासन कार्यालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आग्रह गर्ने सहमति भएको छ ।
यसैबीच, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि दुर्घटनाका पीडित परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने र घाइतेको उपचारमा चासो देखाएको छ । कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले राहत तथा क्षतिपूर्तिका लागि आवश्यक प्रक्रिया अघि बढाइसकिएको जानकारी दिएका छन् ।
मधेश प्रदेश ०३-००१ ज ०८८० नम्बरको ईभी हाइस बिहीबार बिहान सडकबाट करिब ५०० मिटर तल खस्दा १४ जनाको मृत्यु भएको थियो । दुर्घटनाका बेला चालकसहित २० जना सवार थिए । दुर्घटनामा ६ जना घाइते भएका छन् । उनीहरूको हेटौंडा, भरतपुर र काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
त्यस्तै, दुर्घटनामा मृत्यु हुनेमा चालकसहित ६ पुरुष, ५ महिला र ३ बालिका रहेको प्रहरीले जनाएको छ । मृतक अधिकांश सर्लाहीका बासिन्दा हुन् ।
मृत्यु हुनेमा सर्लाहीको शुक्रघट्टा गाउँपालिका-४ सुन्दरपुरका ३५ वर्षीय राकेश यादव, २८ वर्षीय छोटु राय र करिब १७ वर्षीय सुधेश यादव छन् । त्यस्तै, सर्लाहीको कबिलासी गाउँपालिका-८ का करिब ३० वर्षीय चालक रविशंकर कुमार मण्डलको पनि मृत्यु भएको छ ।
अन्य मृतकमा सर्लाहीको चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुर टोलका २६ वर्षीय बिकेश यादव, ३५ वर्षीया पुनम यादव, ७ वर्षीया दिक्षा यादव, ५ वर्षीया दिपिका यादव, १० वर्षीया अनुकुमारी यादव, करिब ३५ वर्षीय गुड्डु यादव, ३० वर्षीया गायत्री देवी, २५ वर्षीय रामदुलार यादव, २४ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादव रहेका छन् ।
