`

नेपाल यू-१९ महिला टोली भारत ‘ए’सँग १२५ रनले पराजित

Nepal One HD २९ कार्तिक २०८३ १६:०२
खेलकुद

काठमाडौं । भारतको बेंगलुरुमा जारी यू-१९ महिला त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । शनिबार भएको खेलमा नेपाल भारत ‘ए’सँग १२५ रनको फराकिलो अन्तरले पराजित भएको हो ।

भारत ‘ए’ले दिएको २०६ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८० रन मात्रै बनाउन सक्यो । नेपालको ब्याटिङ निकै कमजोर रह्यो । टोलीका कुनै पनि ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् ।

टस जितेर पहिले ब्याटिङ गरेको भारत ‘ए’ले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०५ रन बनाएको थियो । उसका लागि कप्तान भाविका अहिरेले २९ बलमा सर्वाधिक ४८ रन बनाइन् । तनिष्का शर्माले १७ बलमा ३६ रन जोड्दा निधि महतो र आर्या पोङ्देले समान ३५ रनको योगदान दिए ।

त्यस्तै, नेपालका लागि टीका शाहले २ विकेट लिइन् । रचना चौधरी र आशिका महराले समान १ विकेट हात पारे ।

२०६ रनको लक्ष्य पछ्याएको नेपालको सुरुवात नै कमजोर रह्यो । सबित्री धामीले १८ बलमा सर्वाधिक १९ रन बनाउँदा त्रिसना विश्वकर्माले २५ बलमा १८ रन जोडिन् । रचना चौधरीले ९ रन बनाइन् । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

भारत ‘ए’की मैत्री मनियार नेपाली ब्याटरमाथि हाबी भइन् । उनले ३ ओभरमा ७ रन खर्चेर ४ विकेट लिइन् । महक नरवसे र नन्धना श्रीधरणले समान १ विकेट हात पारे ।

यसअघि नोभेम्बर १२ मा भएको पहिलो खेलमा नेपाल भारत ‘बी’सँग पराजित भएको थियो । लगातार दुई हारपछि नेपाल सिरिजमा दबाबमा परेको छ ।

नेपालले अब नोभेम्बर १८ मा भारत ‘बी’सँग र नोभेम्बर २० मा भारत ‘ए’सँग पुनः प्रतिस्पर्धा गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *