डब्लुएचओको क्षेत्रीय निर्देशकमा नेपालको उम्मेदवारी
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को दक्षिण–पूर्वी एसियाली क्षेत्रीय निर्देशक पदका लागि नेपालसहित चार देशले उम्मेदवारी अघि सारेका छन्।
यद्यपि, उम्मेदवारहरूको आधिकारिक सूची सार्वजनिक हुन बाँकी छ। डब्लुएचओले आगामी नोभेम्बर २३ मा उम्मेदवारहरूको औपचारिक नामावली सार्वजनिक गर्ने तयारी गरेको छ।
नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रालाई उक्त पदका लागि उम्मेदवार बनाएको छ। मन्त्रिपरिषद्बाट उनको नाममा सहमति जुटेपछि नेपालले सदस्य राष्ट्रहरूको समर्थन प्राप्त गर्न कूटनीतिक पहल थालेको छ।
विभिन्न सञ्चारमाध्यममा प्रकाशित विवरणअनुसार नेपालबाहेक भुटान, माल्दिभ्स र श्रीलंकाले पनि उम्मेदवार अघि सारेका छन्। भुटानबाट पूर्वप्रधानमन्त्री साङ्गे नगेदुप, माल्दिभ्सबाट पूर्वस्वास्थ्यमन्त्री डा. अहमद जम्शिद मोहम्मद र श्रीलंकाबाट स्वास्थ्य तथा आमसञ्चार मन्त्रालयका सचिव डा. अनिल जसिंघेको नाम चर्चामा छ। तर यी उम्मेदवारीको आधिकारिक पुष्टि हुन बाँकी छ।
बंगलादेशकी साइमा वाजेदले गत सेप्टेम्बर ९ मा पदबाट राजीनामा दिएपछि क्षेत्रीय निर्देशकको पद रिक्त भएको हो। रिक्त पदमा नयाँ नेतृत्व चयन गर्न डब्लुएचओले निर्वाचन प्रक्रिया अघि बढाएको छ।
निर्वाचन कार्यतालिकाअनुसार नोभेम्बर २३ मा उम्मेदवारहरूको नाम र व्यक्तिगत विवरण सदस्य राष्ट्रहरूलाई उपलब्ध गराइनेछ। त्यसपछि उनीहरूको योग्यता, अनुभव र नेतृत्वसम्बन्धी विवरण मूल्याङ्कन गरिनेछ।
डिसेम्बरको मध्यतिर आयोजना हुने उम्मेदवार मञ्चमा प्रत्येक उम्मेदवारले आफ्नो कार्ययोजना प्रस्तुत गर्नेछन्। सदस्य राष्ट्रका प्रतिनिधिले सोधेका प्रश्नको जवाफ दिन प्रत्येक उम्मेदवारलाई ४० मिनेटको समय उपलब्ध गराइनेछ।
आगामी सन् २०२७ जनवरी ८ मा मूल्याङ्कन समूहले आफ्नो प्रतिवेदनसहित बढीमा तीन जना उम्मेदवारको संक्षिप्त सूची सदस्य राष्ट्रहरूलाई पठाउनेछ। त्यसपछि जनवरी २३ मा स्विट्जरल्यान्डको जेनेभास्थित डब्लुएचओ मुख्यालयमा बस्ने क्षेत्रीय समितिको विशेष बैठकले मतदानमार्फत नयाँ क्षेत्रीय निर्देशक मनोनयन गर्नेछ।
क्षेत्रीय समितिको सिफारिसलाई जनवरी २५ देखि फेब्रुअरी २ सम्म बस्ने डब्लुएचओ कार्यकारी बोर्डको १६०औँ सत्रले अनुमोदन गर्ने कार्यतालिका छ।
नेपालले यसअघि सन् २०२३ मा पनि क्षेत्रीय निर्देशक पदमा डा. शम्भुप्रसाद आचार्यलाई उम्मेदवार बनाएको थियो। उक्त निर्वाचनमा बंगलादेशकी साइमा वाजेदले आठ मत प्राप्त गर्दा नेपाली उम्मेदवार आचार्यले दुई मत मात्रै पाएका थिए।
यसपटक नेपालले उम्मेदवारी दर्तासँगै सदस्य राष्ट्रहरूको समर्थन जुटाउन कूटनीतिक सक्रियता बढाएको छ। डा. मिश्राको उम्मेदवारी सफल भएमा विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसियाली क्षेत्रीय नेतृत्वमा नेपालले प्रतिनिधित्व गर्ने अवसर पाउनेछ।
