`

वनकरियाको घर, जहाँ प्रधानमन्त्री हुँदा एकरात बसेका थिए बाबुराम!

Nepal One HD २ मंसिर २०८३ १२:३०
बिशेष

हेटौँडा । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई एक रात बसेको मकवानपुरको वनकरिया बस्तीस्थित घर अहिले सुनसान छ। भट्टराई बसेको घरलाई पर्यटकीय आकर्षण बनाउने उद्देश्यले सञ्चालन गरिएको होमस्टे पाहुना नआएपछि बन्द भएको छ।

मनहरी गाउँपालिका–४ मुसेधापस्थित वनकरिया बस्तीमा समुदायको आयआर्जन बढाउने र पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित २०७७ सालमा दुई कोठे होमस्टे सञ्चालन गरिएको थियो। तर, प्रचारप्रसारको अभाव, कमजोर व्यवस्थापन र पर्यटकको आगमन नहुँदा होमस्टे अहिले प्रयोगविहीन बनेको छ।

तत्कालीन प्रधानमन्त्री भट्टराई २०६९ माघ २२ गते यही बस्तीमा एक रात बसेका थिए। महिनामा एक दिन सर्वसाधारणको घरमा बिताउने योजनाअनुसार हेटौँडा भ्रमणका क्रममा उनी सानुसोमलाल वनकरिया र माया वनकरियाको घरमा पुगेका थिए।

त्यसक्रममा उनले स्थानीय परिकार गिट्ठा, भ्याकुर र कोदोको ढिँडो भोर्लाको पातमा राखेर खाएका थिए। प्रधानमन्त्री नै बास बसेको घर र लोपोन्मुख समुदायको जीवनशैलीलाई पर्यटनसँग जोड्ने उद्देश्यले पछि होमस्टे सञ्चालन गरिएको थियो।

तर, अपेक्षाअनुसार पर्यटक नआएपछि योजना सफल हुन सकेन। होमस्टे सञ्चालनमा आएपछि केही अनुसन्धानकर्ता वनकरिया समुदायको जीवनशैली र जीविकोपार्जनबारे अध्ययन गर्न पुगे पनि पछिल्ला दुई वर्षदेखि पर्यटक आउन छाडेका छन्।

मनहरी–४ का वडाध्यक्ष प्रकाश थापाका अनुसार आर्थिक रूपमा कमजोर समुदायले होमस्टे सञ्चालनलाई निरन्तरता दिन सकेनन्। आम्दानीको स्रोत सीमित हुनु र पर्यटक नआउनु मुख्य समस्या बनेको उनको भनाइ छ।

बाँस र खर प्रयोग गरेर बनाइएको होमस्टे भवनसमेत जीर्ण बनेको छ। थप लगानी गर्न नसक्दा यसको संरक्षण र पुनःसञ्चालन अन्योलमा परेको छ।

२३ घरधुरी रहेको वनकरिया बस्तीमा ४८ महिला र ४५ पुरुष गरी ९३ जनाको बसोबास छ। लोपोन्मुख समुदायको पहिचान, संस्कृति, खानपान र जंगल सफारीलाई पर्यटनसँग जोड्ने उद्देश्यले सुरु गरिएको होमस्टे अहिले आफैँ संरक्षणको पर्खाइमा छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *