`

राष्ट्रिय सभाका दुई सिट र कोशी प्रदेश प्रमुख पद रिक्त,सरकार बेखबर

Nepal One HD २ मंसिर २०८३ १६:२२
बिशेष

काठमाडौं । राष्ट्रिय सभाका दुई सदस्यको पद लामो समयदेखि रिक्त रहँदा पनि सरकारले पदपूर्तिका लागि आवश्यक प्रक्रिया अघि बढाएको छैन।

त्यस्तै, कोशी प्रदेश प्रमुखको पाँचवर्षे कार्यकाल सकिएको एक साताभन्दा बढी भइसक्दा पनि नयाँ नियुक्तिको तयारी देखिएको छैन।

राष्ट्रिय सभामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने एक र निर्वाचनमार्फत चयन हुने अर्को सदस्यको पद रिक्त छ। राष्ट्रपति मनोनीत सदस्य वामदेव गौतमको कार्यकाल २०८२ फागुन २० गते सकिएको थियो। सुदूरपश्चिम प्रदेशबाट निर्वाचित नेपाली कांग्रेसका बलदेव बोहराको भने गत पुस ३० गते निधन भएपछि अर्को सिट रिक्त भएको हो।

संवैधानिक व्यवस्थाअनुसार रिक्त हुने सदस्य जुन प्रक्रियाबाट चयन भएका हुन्, सोही प्रक्रियाबाट पदपूर्ति गर्नुपर्छ। यसअनुसार गौतमको स्थानमा राष्ट्रपतिबाट मनोनयन र बोहराको स्थानमा निर्वाचन गर्नुपर्ने हुन्छ।

गौतमको स्थानमा सदस्य नियुक्त गर्न तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले गत चैत १ गते तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्यालको नाम सिफारिस गरेको थियो। तर, राष्ट्रपति कार्यालयमा पुगेको उक्त सिफारिसमाथि अहिलेसम्म निर्णय भएको छैन।

बोहराको स्थानमा निर्वाचन गराउने प्रक्रिया पनि अघि बढ्न सकेको छैन। राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ ले पद रिक्त भएको ३५ दिनभित्र निर्वाचन सम्पन्न हुने गरी कार्यतालिका निर्धारण गर्नुपर्ने व्यवस्था गरेको छ। तर, निर्वाचन आयोगले अहिलेसम्म निर्वाचनको मिति सार्वजनिक गरेको छैन।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार रिक्त पदबारे आयोग जानकार छ। निर्वाचनको मिति तय गर्ने विषयमा सरकारसँग छलफल भइरहेको भए पनि कुनै टुंगो लागेको छैन।

यसैबीच, कोशी प्रदेश प्रमुख परशुराम खापुङको पाँचवर्षे कार्यकाल कात्तिक २४ गते सकिएपछि उक्त पद पनि रिक्त छ। २०७८ कात्तिक २५ गते नियुक्त भएका खापुङ जनता समाजवादी पार्टीको कोटाबाट प्रदेश प्रमुख बनेका थिए।

तर, उनको कार्यकाल समाप्त भएको एक सातासम्म पनि सरकारले नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि नाम सिफारिस गरेको छैन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले यस विषयमा अहिलेसम्म कुनै छलफल नभएको जनाएको छ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता धर्मराज गैरेले पनि कोशी प्रदेश प्रमुख नियुक्तिका लागि सरकारबाट कुनै नाम सिफारिस भएर नआएको बताएका छन्।

राष्ट्रिय सभाका दुई सदस्य र प्रदेश प्रमुखको पद रिक्त रहँदा सरकारको नियुक्ति तथा निर्वाचनसम्बन्धी प्रक्रिया अघि बढ्न नसकेको देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *