`

बालेनका ‘शकुनी’ बेन : पर्दापछिको छल-चलखेल

समिन बरुवाल २ मंसिर २०८३ १७:४३
बिशेष

काठमाडौं । महाभारतमा शकुनी आफैं युद्ध लड्दैनथे। उनी पासा फ्याँक्थे, रणनीति बनाउँथे र अरूलाई भिडाएर आफ्नो छल-चलखेल अघि बढाउँथे। पात्रहरू मैदानमा देखिन्थे, तर खेलको दिशा र दूरी पर्दापछिबाट शकुनीले तय गर्थे। 

अहिले प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयमा प्रमुख सल्लाहकारका रूपमा रहेका कुमार ब्यञ्जनकार (कुमार बेन) को भूमिकालाई लिएर पनि यस्तै राजनीतिक चित्रण हुन थालेको छ। प्रधानमन्त्रीको अनुहार अगाडि राखेर पर्दापछिबाट सत्ता सञ्चालनको रणनीति बनाउने पात्रका रूपमा बेनमाथि आलोचना बढेको छ।

इनम सापकोटा प्रकरणले यो बहसलाई थप चर्काएको छ। राजनीतिक प्रतिस्पर्धी र प्रभावशाली व्यक्तिहरूलाई अनुसन्धानको घेरामा ल्याउने खेलमा इनमलाई प्रयोग गरिएको आरोप लागिरहेका बेला उनकै मोबाइल दुई दिनसम्म प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनको घरमा रहेको विवरण सार्वजनिक भएको छ। फरेन्सिक परीक्षणबाट मोबाइल बेनको निवासमा रहेको पुष्टि भएको समाचार बाहिरिएपछि प्रकरणले नयाँ मोड लिएको हो।

प्रहरी अनुसन्धानका क्रममा बरामद भएको मोबाइल प्रहरीको नियमित नियन्त्रणबाहिर कसरी पुग्यो? यो प्रश्न उठेको छ। बेनको घरमा रहँदा त्यसबाट सामाजिक सञ्जाल चलाइएको, स्क्रिनसट लिइएको र केही सन्देश मेटाइएको विवरण सार्वजनिक भएको छ। 

बेनको निवासमा मोबाइल रहनु र प्रधानमन्त्री सचिवालयका अधिकारीको प्रहरी अनुसन्धानप्रतिको चासोबीच पनि घटनाक्रम जोडिएको देखिन्छ। नेपालखबरले सार्वजनिक गरेको भिडिओमा प्रधानमन्त्रीका सरकारी मामिला तथा योजना समन्वय संयोजक विशाल अधिकारी जिल्ला प्रहरी परिसर काठमाडौं पुगेर इनमको अनुसन्धानबारे जानकारी लिइरहेको देखिन्छ। गत असोज १६ गते साँझको उक्त भिडिओमा विशालले अनुसन्धानको प्रगतिबारे सोधेका छन्। कुराकानीकै क्रममा डीएसपी राजु अधिकारीले मोबाइल कुमार बेनकोमा रहेको बताएको सुनिन्छ।

त्यति मात्र होइन, गृहमन्त्रीका स्वकीय सचिव जेम्स कार्की र आफूलाई प्रधानमन्त्री तथा गृहमन्त्रीको सूचना प्रविधि परामर्शदाता बताउने चिराग श्रेष्ठसमेत प्रहरी परिसर पुगेको विवरण सार्वजनिक भएको छ। इनम पक्राउ परेपछि प्रधानमन्त्री र गृहमन्त्री दुवैको सचिवालयबाट अनुसन्धानबारे निरन्तर चासो राखिएको प्रहरी अधिकृतको भनाइ छ।

यी घटनाक्रमले इनम प्रकरणमा सचिवालयको चासो सामान्य प्रशासनिक समन्वयमा मात्रै सीमित थियो कि अनुसन्धानलाई प्रभावित पार्ने तहसम्म पुगेको थियो भन्ने बहस जन्माएको छ। प्रहरीको काममा राजनीतिक पहुँच र सत्ताको प्रभाव प्रयोग भएको हो भने त्यो कानुनी शासनकै लागि गम्भीर विषय हो।

यहीँनेर बेनको भूमिका महत्त्वपूर्ण देखिन्छ। प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको हैसियतमा उनी सरकारका निर्णय र रणनीतिमा प्रभाव राख्ने स्थानमा छन्। तर इनमको मोबाइल उनको घरमा कसरी पुग्यो, त्यहाँ रहँदा कसको पहुँच थियो र डिजिटल सामग्रीमा के परिवर्तन भयो भन्ने विषयमा उनले सार्वजनिक रूपमा स्पष्टीकरण दिएका छैनन्। प्रधानमन्त्री बालेन पनि मौन छन्।

बेनलाई बालेनका ‘शकुनी’ भनेर चित्रण गर्नुको राजनीतिक आधार पनि यही पर्दापछिको प्रभाव र सार्वजनिक भएका घटनाक्रम हुन्।  

महाभारतमा शकुनीको खेलमा अरू पात्र मोहरा बनेका थिए। बालेन सरकारमा पनि राजनीतिक प्रतिद्वन्द्वीलाई लक्षित गर्ने रणनीतिमा राज्यका निकाय र स्वयम् प्रधानमन्त्री बालेन नै प्रयोग भईरहेका त छैनन् ? यो सबाल राजनीतिक वृत्तमा सलबलाई रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *