`

‘प्रहरी संगठन विभाजित हुँदैन, सरकारको निर्णय गलत थियो’

शुभेच्छा खड्का २ मंसिर २०८३ १८:३९
अन्तर्वार्ता/बिचार

काठमाडौं। नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक दानबहादुर कार्कीलाई कार्यकाल बाँकी छँदै हटाएर नयाँ आईजीपी नियुक्त गरिएपछि राजनीतिक, प्रशासनिक र प्रहरी संगठनभित्रै तरंग उत्पन्न भएको छ। डा. मनोज केसीलाई नयाँ आईजीपी बनाइएपछि अहिले प्रहरी संगठनभित्रै दुईवटा धार बनेको चर्चा पनि भइरहेको छ।

तत्कालीन आईजीपी सरकारी निर्णयविरुद्ध अदालत पुगेका छन्। उता प्रहरी संगठनभित्र कार्कीको छुट्टै धार बनेको चर्चा छ। समग्र देशको शान्ति सुरक्षाको जिम्मा लिएको प्रहरी संगठन नै आन्तरिक किचलोमा रुमलिएपछि देशको सुरक्षा व्यवस्थामा यसको कस्तो प्रभाव पर्छ? हामीले यही प्रश्नमा केन्द्रित रहेर नेपाल प्रहरीका पूर्वनायव महानिरीक्षक हेमन्त मल्लसँग अडियोवार्ता गरेका छौँ।

प्रस्तुत छ, नेपालवान् एचडीका लागि शुभेच्छा खड्काले पूर्वप्रहरी नायव महानिरीक्षक हेमन्त मल्लसँग गरेको फोनवार्ताको सम्पादित तथा संक्षिप्त अंश :

सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई बर्खास्त गरेपछि प्रहरी संगठनभित्रै दुई धार देखिन थालेको चर्चा छ। यसले देशको शान्ति सुरक्षामा कस्तो असर पार्न सक्छ?

दुई धार हुँदैन। यो पहिलाको र अहिलेको फरक प्रहरी हो। पहिले जुन किसिमको अवस्था देखिन्थ्यो, अहिले त्यस्तो होला जस्तो मलाई लाग्दैन। नेतृत्व परिवर्तनले प्रहरी संगठनमा दुई–तीनवटा असर भने पार्न सक्छ। पहिलो, भोलि के हुने हो भन्ने अनिश्चितताले अस्थिरता निम्त्याउन सक्छ। दोस्रो, नयाँ नेतृत्व आएपछि नयाँ किसिमका दबाब सिर्जना हुन सक्छन्। सरकारले जुन किसिमले काम गराउन खोजिरहेको छ, त्यसलाई प्रहरीले नियन्त्रण गर्नुपर्ने हुन्छ। प्रहरीले त्यसलाई नियन्त्रण गर्न सक्छ कि सक्दैन भन्ने कुरा पनि आगामी फैसलापछि स्पष्ट हुँदै जाला।

यस विषयमा अहिलेको प्रहरी नेतृत्वले विशेष ध्यान दिनुपर्ने हुन्छ। तर संगठन दुई समूहमा विभाजित हुने अवस्था आउँछ जस्तो मलाई लाग्दैन।

प्रहरी संगठनभित्र दुई धार देखिएको चर्चामा कत्तिको सत्यता छ?

हामीले बुझ्नुपर्ने कुरा के हो भने कुनै व्यक्तिले कुनै नेतृत्वसँग आफूलाई सहज महसुस गरेको हुन सक्छ। सबैको काम गर्ने आ-आफ्नै शैली हुन्छ। त्यसैले कुनै व्यक्तिले एउटा नेतृत्वसँग सहज महसुस गर्ने र अर्को व्यक्तिले अर्कै नेतृत्वसँग सहज महसुस गर्ने अवस्था हुन सक्छ। आ-आफ्ना कम्फर्ट जोन हुन सक्छन्।

तर आजको समयमा प्रहरी अधिकारीहरूको अनुभव, कार्यशैली र एक्सपोजरलाई हेर्दा संगठन नै विभाजित हुने अवस्था आउँछ जस्तो मलाई लाग्दैन।

के दानबहादुर कार्की फेरि प्रहरी महानिरीक्षकमा फर्किन सक्ने सम्भावना कति देख्नुहुन्छ?

त्यो विषयमा हामीले अहिले नै केही भन्न मिल्दैन। यो विषय अहिले अदालतमा छ। विगतका उदाहरण हेर्दा अदालतको आदेशबाट फर्किएका घटनाहरू पनि छन्। अब अदालतले कस्तो निर्णय गर्छ भन्ने कुराले सबै कुरा निर्धारण गर्छ। अदालतबाट जे फैसला आउँछ, त्यसलाई सबैले मान्नैपर्छ। त्यसैले अहिले नै यसबारे निष्कर्ष निकाल्नु उचित हुँदैन।

दानबहादुर कार्की अदालतको आदेशबाट पुनः प्रहरी महानिरीक्षकमा फर्किए भने संगठनभित्र कस्तो अवस्था देखिन सक्छ?

त्यसले संगठनमा कुनै समस्या निम्त्याउँछ जस्तो मलाई लाग्दैन। विगतमा पनि यस्ता धेरै घटना भएका छन्। अदालतको आदेशबाट फर्केर आएपछि संगठन व्यवस्थापन गर्न त्यति समस्या हुँदैन। अदालतको आदेश सबैले मान्नुपर्छ र त्यसलाई कार्यान्वयन गर्नुपर्छ। अब अदालतले कस्तो फैसला गर्छ भन्ने कुरा कुर्नुपर्छ। फैसला आएपछि त्यसको कार्यान्वयनमा पनि त्यस्तो कठिनाइ हुन्छ जस्तो मलाई लाग्दैन।

अन्तिममा के भन्न चाहनुहुन्छ?

अहिले प्रहरी संगठनको विषयमा सबैका आ-आफ्ना धारणा छन्। यसअघि पनि मैले मात्रै होइन, पूर्वगृहसचिव तथा मुख्यसचिवहरूले समेत यस विषयमा आफ्नो धारणा राख्दै आएका हुन्।

जुन किसिमको निर्णय भयो, त्यो निर्णय हुनुहुँदैनथ्यो। तर त्यो सरकारको निर्णय हो। अहिलेको प्रहरी नेतृत्वलाई त्यसमा जोडेर अनावश्यक बहस गर्नुभन्दा सरकारले गरेको निर्णयको जिम्मेवारी सरकारले नै लिनुपर्छ। गल्ती सरकारले गरेको हो। सरकारले गर्न नहुने गल्ती गर्‍यो।

अब आगामी दिनमा त्यो निर्णय सच्याउने कि नसच्याउने भन्ने कुरा अदालतको निर्णयमा निर्भर छ। त्यसैले अहिलेको नेतृत्वलाई अनावश्यक विवादमा तान्नुभन्दा अदालतबाट आउने फैसलालाई पर्खनु उचित हुन्छ। अहिले भएको निर्णय गलत थियो भन्ने कुरा हामीले स्वीकार गर्नुपर्छ। त्यसैले यस विषयमा थप विवाद र बहसभन्दा पनि अदालतको निर्णय पर्खनु नै उचित हुन्छ। अन्तिम निर्णय अदालतकै हातमा छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *