नेपाल राष्ट्र बैंकको सम्पत्ति ४५ प्रतिशतले बढ्याे
काठमाडौं । नेपाल राष्ट्र बैंकको कुल सम्पत्ति तथा दायित्व एक वर्षमा ४५.०६ प्रतिशतले वृद्धि भई ३८ खर्ब ७४ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक वित्तीय विवरणअनुसार बैंकको वित्तीय आकार उल्लेख्य रूपमा विस्तार भएको हो।
राष्ट्र बैंकको विवरणअनुसार २०८२ असार मसान्तमा २६ खर्ब ७१ अर्ब २३ करोड ९५ लाख रुपैयाँ रहेको कुल सम्पत्ति तथा दायित्व २०८३ असार मसान्तमा बढेर ३८ खर्ब ७४ अर्ब ८२ करोड १० लाख रुपैयाँ पुगेको छ।
कुल सम्पत्तिमध्ये लगानीको हिस्सा ८९.७२ प्रतिशत रहेको छ। त्यस्तै, नगद तथा बैंक मौज्दातको हिस्सा ६.८७ प्रतिशत र अन्य सम्पत्तिको हिस्सा ३.४१ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्षमा यी सम्पत्तिको हिस्सा क्रमशः ८८.२९ प्रतिशत, ८.३२ प्रतिशत र ३.७६ प्रतिशत थियो।
समीक्षा अवधिमा राष्ट्र बैंकले विभिन्न वित्तीय उपकरणमा गरेको लगानी ४६.३६ प्रतिशतले वृद्धि भई ३४ खर्ब ७६ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो लगानी २३ खर्ब ५ अर्ब २६ करोड रुपैयाँ रहेको थियो।
त्यस्तै, बैंकको नगद तथा बैंक मौज्दात ३६.१८ प्रतिशतले वृद्धि भई २ खर्ब ६६ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो रकम १ खर्ब ९५ अर्ब ५३ करोड रुपैयाँ थियो।
राष्ट्र बैंकको कुल दायित्व तथा इक्विटीमा दायित्वको हिस्सा ७३.१२ प्रतिशत र इक्विटीको हिस्सा २६.८८ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यी अनुपात क्रमशः ७४.६९ प्रतिशत र २५.३१ प्रतिशत थिए।
यस अवधिमा चलनचल्तीमा रहेको नोटको रकम ६.८७ प्रतिशतले वृद्धि भई ८ खर्ब १ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तमा यस्तो रकम ७ खर्ब ५० अर्ब ११ करोड रुपैयाँ थियो।
बैंक तथा वित्तीय संस्थाहरूको राष्ट्र बैंकमा रहेको स्वदेशी तथा विदेशी मुद्राको निक्षेप ५९.१३ प्रतिशतले बढेर १६ खर्ब ७५ अर्ब १९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो निक्षेप १० खर्ब ५३ अर्ब १७ करोड रुपैयाँ थियो।
त्यसैगरी, राष्ट्र बैंकमा रहेको नेपाल सरकारको निक्षेप १ खर्ब ८६ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ। कुल इक्विटीमा ५४.०५ प्रतिशतको वृद्धि देखिएको छ। यसअन्तर्गत जगेडा कोष ५४.४५ प्रतिशतले बढेर १० खर्ब ३६ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ। बैंकको शेयर पुँजी भने ५ अर्ब रुपैयाँमा यथावत् रहेको छ।
राष्ट्र बैंकको आर्थिक वर्ष २०८२/८३ को खुद सञ्चालन आम्दानी अघिल्लो वर्षको तुलनामा ६.४८ प्रतिशतले वृद्धि भई ९३ अर्ब ९२ करोड २० लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा खुद ब्याज आम्दानी ८.६३ प्रतिशतले बढेर ९४ अर्ब ५६ करोड ४९ लाख रुपैयाँ पुगेको छ। विदेशी विनिमय खरिद बिक्रीबाट भएको आम्दानी भने २ अर्ब १३ करोड ८५ लाख रुपैयाँ ऋणात्मक रहेको छ। त्यस्तै, अन्य सञ्चालन आम्दानी १ अर्ब ४९ करोड ५८ लाख रुपैयाँ रहेको छ।
विदेशी विनिमय तथा अन्य सम्पत्तिको पुनर्मूल्याङ्कनबाट हुने लाभ तथा हानि समायोजनअघिको खुद आय ३.८४ प्रतिशतले वृद्धि भई ८३ अर्ब ५६ करोड ९४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो खुद आय ८० अर्ब ४८ करोड २६ लाख रुपैयाँ रहेको थियो।
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण निर्धारित समयमै सम्पन्न गरेको जनाएको छ। लेखापरीक्षण प्रतिवेदनमाथि छलफल गर्दै २०८३ कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले बैंकको खुद मुनाफाबाट आवश्यक विभिन्न कोषमा रकम विनियोजन गर्ने निर्णय गरेको छ।
विभिन्न कोषमा रकम छुट्याएपछि बाँकी रहेको बचत रकममध्ये ४२ अर्ब रुपैयाँ नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय सञ्चालक समितिले गरेको हो।
यस निर्णयसँगै राष्ट्र बैंकले आफ्नो वित्तीय विवरणबाट सरकारलाई ४२ अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ।
