एमालेले मङ्सिर २६ र पुस ४ गते वडा तथा पालिका अधिवेशन गर्ने, सर्वसम्मत नभए चुनाव
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले वडा र पालिका अधिवेशनमा सर्वसम्मति हुन नसके लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गरिने बताएका छन्।
बिहीबार राष्ट्रिय भेलापछिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले मङ्सिर २६ गते वडा र पुस ४ गते पालिका अधिवेशन हुने जानकारी दिए।
उनले भने, ‘मङ्सिर २६ गते वडाको अधिवेशन र पुसको ४ गते पालिका तहको अधिवेशन गर्दैछौँ, यी अधिवेशनहरूलाई कसरी सम्पन्न गर्ने भन्ने सन्दर्भमा सबै केन्द्रीय सदस्यहरूलाई मातहत कमिटीहरूमा व्यवस्थित गरेर सकेसम्म सर्वसम्मत ढङ्गबाट सर्वसम्मत भएन भने लोकतान्त्रिक प्रक्रिया पूरा गरेर राष्ट्रिय भेलामा हाम्रो नेतृत्व गणले प्रस्तुत गरेका सबैका प्रतिवेदनहरूका आधारमा तोकेको मुख्य दुई कार्यभार र १५ काम प्रभावकारी ढङ्गले काम गर्ने भनेर आजको यो संक्षिप्त बैठक बस्यो।’
उनले एमाले लोकतान्त्रिक अभ्यासबाट अघि बढ्ने पार्टी भएकाले नेतृत्व चयनमा निर्वाचन गर्न पछि नहट्ने स्पष्ट पारे। अधिवेशनमा हुने प्रतिस्पर्धाले पार्टी कमजोर नभई थप व्यवस्थित र बलियो बन्ने उनको दाबी छ।
बस्नेतले वडा तथा पालिका अधिवेशनले आगामी स्थानीय तहको निर्वाचनलाई समेत सहयोग पुग्ने बताए।
