`

आईजीपीबाट हटाइएका कार्कीका कानुन व्यवसायी भन्छन् – पुनर्बहाली हुनुपर्छ

Nepal One HD २ मंसिर २०८३ १४:०८
राजनीति

काठमाडौं । प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकार बनाइएका दानबहादुर कार्कीलाई पुनः प्रहरी प्रमुखकै जिम्मेवारीमा फर्काउन माग गर्दै सर्वोच्च अदालतमा कानुनी बहस भएको छ ।

कार्कीले दायर गरेको रिटमाथि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा बुधबार भएको सुनुवाइमा कानुन व्यवसायीहरूले सरकारको निर्णयलाई स्वेच्छाचारी र कानुनविपरीत भन्दै अन्तरिम आदेश जारी गर्न माग गरेका छन् ।

बहसमा कार्कीको प्रहरी महानिरीक्षकको चारवर्षे कार्यकाल पूरा हुन अझै १८ महिना बाँकी रहेको अवस्थामा सरकारले कुनै कारण र स्पष्टीकरणबिनै पदबाट हटाएको जिकिर गरिएको छ । प्रहरी प्रमुखलाई हटाएर सुरक्षा सल्लाहकार बनाउनु सामान्य सरुवा नभई पदबाट हटाउने नियतले गरिएको निर्णय भएको दाबी गरिएको छ ।

सरकारले कार्कीलाई हटाउने निर्णय गर्दा कुन कानुनी व्यवस्था र आधार प्रयोग गरेको हो भन्ने स्पष्ट नभएको भन्दै तत्काल न्यायिक हस्तक्षेप आवश्यक रहेको तर्कसमेत गरिएको छ ।

बहसका क्रममा विगतमा नवराज सिलवाल र हितेन्द्रदेव शाक्यसँग सम्बन्धित मुद्दाका नजिरसमेत अघि सारिएको थियो । निश्चित पदावधि तोकिएको प्रहरी महानिरीक्षकलाई सरकारको इच्छा र अनुकूलताका आधारमा हटाउन नमिल्ने कानुनी जिकिर गरिएको छ ।

अदालतले तत्काल अन्तरिम आदेश जारी गरी सरकारसँग १५ दिनभित्र लिखित जवाफ माग्नुपर्ने माग पनि गरिएको छ । अन्तरिम आदेश जारी गर्दा सरकारलाई कुनै अपूरणीय क्षति नहुने तर कार्कीलाई पदबाट हटाइराख्दा निरन्तर अन्याय भइरहेको दाबी रिट पक्षको छ ।

सरकारको निर्णयले प्रहरी संगठनको नेतृत्वमा राजनीतिक हस्तक्षेपको नजिर स्थापित गर्न सक्ने भन्दै कानुन व्यवसायीहरूले अदालतबाट त्यसलाई रोक्नुपर्ने माग गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *