`

फिलिपिन्समा ट्रम्प आउट, विरोध चर्किंदै, एआई योजना विवादमा

Nepal One HD ३ मंसिर २०८३ १४:१६
बिशेष

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फिलिपिन्स भ्रमण र अमेरिकी सहयोगमा निर्माण गर्न प्रस्ताव गरिएको कृत्रिम बौद्धिकता (एआई) तथा उत्पादन उद्योग केन्द्रको विरोधमा फिलिपिन्सका विभिन्न स्थानमा प्रदर्शन भएका छन्।

अमेरिकी विदेश मन्त्रालयको नेतृत्वमा अघि बढाइएको ‘प्याक्स सिलिका’ पहलअन्तर्गत मनिलाको उत्तरतर्फ चार हजार एकडभन्दा बढी क्षेत्रफलमा औद्योगिक केन्द्र निर्माण गर्ने योजना छ। उच्च प्रविधिका सामग्री तथा सेमिकन्डक्टर उत्पादनका लागि चीनमा निर्भरता घटाउँदै वैकल्पिक आपूर्ति शृङ्खला विकास गर्ने उद्देश्यले यो पहल अघि सारिएको हो।

सोमबार मनिलामा भेला भएका प्रदर्शनकारीले ‘ट्रम्प बाहिर जाऊ’ लेखिएका प्लेकार्ड बोकेका थिए। उनीहरूले ट्रम्पलाई जोकर र राक्षसका रूपमा चित्रित गरिएका तस्बिरसमेत प्रदर्शन गर्दै प्याक्स सिलिका परियोजना अस्वीकार गर्न सर्वसाधारणलाई आग्रह गरेका थिए।

प्रस्तावित औद्योगिक केन्द्रका कारण कृषक तथा आदिवासी समुदाय विस्थापित हुन सक्ने, जलस्रोतमा असर पर्ने र फिलिपिन्समा अमेरिकी प्रभाव बढ्ने प्रदर्शनकारीको चिन्ता छ। परियोजनाको विरोधमा नोभेम्बर १७ मा भएको प्रदर्शनका क्रममा कम्तीमा २४५ जनालाई प्रहरीले पक्राउ गरेको ह्युमन राइट्स वाचले जनाएको छ।

आदिवासी समुदायको अधिकारका लागि काम गर्दै आएकी शिक्षिका मनिनिङ भिलोगले परियोजनाले स्थानीयको जमिन र अर्थतन्त्रमाथि हस्तक्षेप गर्ने आरोप लगाएकी छन्। उनका अनुसार यो पहल अमेरिकी हितका लागि अघि बढाइएको हो, स्थानीय समुदायको आवश्यकतालाई केन्द्रमा राखिएको छैन।

त्यस्तै, २० वर्षीय प्रदर्शनकारी काइजर कोर्टिनाले एआई परियोजनाले स्थानीय कृषक, साना व्यवसायी र श्रमिकको जीवनमा प्रत्यक्ष लाभ नपुर्‍याउने भन्दै प्रश्न उठाएका छन्।

तर फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियर भने उक्त परियोजनाका समर्थक हुन्। उनले यसबाट उन्नत उत्पादन तथा अनुसन्धान क्षेत्रमा लगानी भित्रिने र देशलाई विश्वव्यापी उत्पादन मूल्य शृङ्खलामा माथि उक्लने अवसर मिल्ने बताउँदै आएका छन्। फिलिपिन्स सरकारले परियोजनाबाट एक लाखदेखि एक लाख ३० हजारसम्म रोजगारी सिर्जना हुन सक्ने अनुमान गरेको छ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताका अनुसार औद्योगिक केन्द्र निर्माणका लागि स्थान फिलिपिन्स आफैँले प्रस्ताव गरेको हो। परियोजना अघि बढाउने वा नबढाउने र कुन प्रक्रियाबाट अघि बढाउने भन्ने निर्णय फिलिपिन्सकै कानुन र समयतालिकाअनुसार हुने अमेरिकी पक्षको भनाइ छ।

सन् २०२५ डिसेम्बरमा घोषणा गरिएको प्याक्स सिलिका पहलमा बेलायत, इजरायल, जापान र भारतसहित २५ भन्दा बढी देश सहभागी भइसकेका छन्। फिलिपिन्स पनि सन् २०२६ अप्रिलमा यस पहलमा जोडिएको थियो। त्यसपछि दुई देशले औद्योगिक केन्द्र निर्माणको योजना सार्वजनिक गरेका थिए।

यसैबीच, राष्ट्रपति ट्रम्पको भ्रमणका क्रममा प्याक्स सिलिका परियोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर नहुने फिलिपिन्सका राष्ट्रपति मार्कोसले स्पष्ट पारेका छन्। नोभेम्बर १८ मा उनले यो भ्रमणका क्रममा उक्त विषयमा हस्ताक्षर वा औपचारिक सम्झौताको कार्यक्रम नरहेको बताएका हुन्।

आसियान शिखर सम्मेलन तथा द्विपक्षीय भेटघाटका लागि मनिला पुगेका ट्रम्पले मार्कोससँग भेटवार्ता गर्ने कार्यक्रम छ।

तर प्रस्तावित औद्योगिक केन्द्रको विषयमा स्थानीय समुदायको विरोध र सरकारको समर्थनबीच विवाद कायमै छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *