स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन माग (तस्वीरहरू)
काठमाडौं । स्थानीय तहको निर्वाचन दलीय आधारमा नभई गैरदलीय र स्वतन्त्र प्रणालीबाट गराउन माग गर्दै गैरदलीय स्थानीय सरकार निर्माण अभियानले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ।
अभियानले बिहीबार प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीलाई ज्ञापनपत्र बुझाउँदै आगामी स्थानीय तहको निर्वाचनअघि नै आवश्यक कानुनी तथा नीतिगत व्यवस्था गर्न माग गरेको हो।
आयोगले आगामी चैत ५ गते स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव गरेको जानकारी सञ्चारमाध्यमबाट प्राप्त भएको उल्लेख गर्दै अभियानले निर्वाचन प्रणाली परिवर्तनका लागि आवश्यक कानुनी संशोधन तत्काल अघि बढाउन आग्रह गरेको छ।
ज्ञापनपत्रमार्फत स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन आवश्यक कानुन पहिचान गरी संशोधनको प्रस्ताव सरकारसमक्ष पेस गर्न आयोगलाई आग्रह गरिएको छ। त्यस्तै, मंसिर ५ गते बस्ने सर्वदलीय बैठकमा गैरदलीय स्थानीय सरकारको विषयलाई प्रमुख एजेन्डा बनाएर राजनीतिक दलहरूको प्रतिबद्धता लिन पनि माग गरिएको छ।
अभियानले स्थानीय तहको संवैधानिक कार्यकाल समाप्त हुनुअघि नै गैरदलीय निर्वाचन प्रणाली सुनिश्चित गर्नुपर्ने जनाएको छ। स्थानीय सरकारमा नियन्त्रण र सन्तुलन कायम गर्ने कानुनी व्यवस्था तथा दलित र महिलाको प्रतिनिधित्व बढाउने विषयलाई पनि ज्ञापनपत्रमा प्राथमिकता दिइएको छ।
स्थानीय सरकार जनताको सबैभन्दा नजिकको शासन संरचना भएकाले यसलाई दलीय प्रतिस्पर्धाभन्दा समुदायको आवश्यकता, विकास निर्माण र सेवाप्रवाहमा केन्द्रित गर्नुपर्ने अभियानको तर्क छ।
ज्ञापनपत्रमा गैरदलीय र स्वतन्त्र स्थानीय सरकारको माग देशभर उठिरहेको दाबी गर्दै राजनीतिक दलहरूलाई पनि जनताको माग र समयको आवश्यकता बुझेर अघि बढ्न आग्रह गरिएको छ।












