स्थानीय चुनावमा एमाले र नेकपा मिल्ने, मिलेर धेरै ठाउँ जित्ने (भिडियो)
काठमाडौं । एमाले र नेकपा स्थानीय चुनावमा मिल्ने भएका छन् । दुई दल मिलेर बहुसंख्यक स्थानीय तहमा चुनाव जित्ने तयारी गरेका छन् । मिलेर चुनाव लड्नेबारे एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच समझदारी भइसकेको विवरण आएको छ ।
नेकपा प्रवक्ता प्रकाश ज्वालाका अनुसार पार्टी एकता नै गर्नेगरी दुई दलबीच स्थानीय चुनावमा तालमेल गर्ने भएको हो । एमाले संसदको तेस्रो ठूलो दल हो भने नेकपा चौथो ठूलो दल हो ।
यी दुई दलबीच २०७५ को जेठ ३ गते एकता भएको थियो । तर, दुई दलबीचको एकता तीन वर्ष पनि टिकेन । एकता नटिक्नुमा त्यसबेला ओली र प्रचण्डबीच भएको शक्ति संघर्ष नै हो ।
यस्तोमा गत वर्षको निर्वाचनपछि दुवै दल थला परेका छन् । कतिपय राजनीतिक विश्लेशकहरूले नेपालमा कम्युनिस्ट आन्दोलन विर्सजनको दिशामा गएको टिप्पणी गर्न थालेका छन् । हुन पनि कम्युनिस्ट दलहरू खासगरी आन्तरिक किचलोले निकै कमजोर भएका छन् । यसबीच एमाले र नेकपाले स्थानीय चुनावमा तालमेल गर्दै अन्ततः पार्टी एकता नै गरेर शक्तिमा फर्किने सुर गरेका हुन् ।
