`

बालेनको भारत भ्रमणमा के-के सम्झौता हुँदैछ?

Nepal One HD ४ मंसिर २०८३ १६:२८
बिशेष

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपाल र भारतबीच एक दर्जनभन्दा बढी सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने तयारी गरिएको छ।

भ्रमणकै अवसरमा त्यति नै संख्यामा विकास आयोजनाको शिलान्यास तथा उद्घाटन गर्ने कार्यसूचीसमेत तयार पारिएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा मंसिर ६ र ७ गते हुन लागेको भ्रमणमा आर्थिक साझेदारी, हवाई सम्पर्क विस्तार, पूर्वाधार विकास र द्विपक्षीय सहकार्यलाई मुख्य प्राथमिकतामा राखिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार भ्रमणका क्रममा दुवै देशबीच आर्थिक सहयोगका नयाँ क्षेत्र पहिचान गर्नुका साथै लामो समयदेखि चर्चामा रहेका केही परियोजनालाई कार्यान्वयनको चरणमा लैजाने तयारी छ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच करिब आधा घण्टा एक्लाएक्लै वार्ता हुनेछ। त्यसपछि प्रतिनिधिमण्डलस्तरीय औपचारिक बैठकमा आर्थिक प्याकेज, हवाई मार्ग, पूर्वाधार र दुई देशबीचको सम्बन्धका विविध विषयमा छलफल हुनेछ।

यद्यपि, सबै प्रस्तावमा अन्तिम सहमति जुटिसकेको छैन। भ्रमणको पूर्वसन्ध्यासम्म पनि केही विषयमा प्राविधिक तथा कूटनीतिक तहमा छलफल जारी रहने अधिकारीहरूको भनाइ छ।

प्रधानमन्त्री शाहको भारत भ्रमणमा नेपालले सबैभन्दा बढी प्राथमिकता दिएको विषय अन्तर्राष्ट्रिय हवाई प्रवेश मार्ग हो। भैरहवा, नेपालगन्ज, महेन्द्रनगर र जनकपुरबाट भारतीय आकाश हुँदै नेपाल प्रवेश गर्ने थप रुट उपलब्ध गराउन नेपालले लामो समयदेखि आग्रह गर्दै आएको छ।

अन्तर्राष्ट्रिय उडानलाई सहज बनाउने र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा अन्य विमानस्थलको व्यावसायिक उपयोग बढाउने उद्देश्यले नेपालले थप हवाई मार्गको माग अघि सारेको हो।

यसअघि सुरक्षा संवेदनशीलताको कारण देखाउँदै भारतले यस्तो प्रस्तावमा सहमति जनाउन आनाकानी गर्दै आएको थियो। तर पछिल्लो समय कम्तीमा एउटा थप हवाई प्रवेश मार्ग उपलब्ध गराउने विषयमा भारत सकारात्मक देखिएको नेपाली अधिकारीहरूको भनाइ छ।

भारत महेन्द्रनगरबाट हवाई प्रवेश मार्ग उपलब्ध गराउने प्रस्तावप्रति बढी सकारात्मक रहेको बताइएको छ। तर नेपालले भैरहवाको विकल्पलाई पनि उत्तिकै महत्त्व दिएको छ। महेन्द्रनगरबाट प्रवेश गर्दा विमानले भारतीय आकाशमा तुलनात्मक रूपमा बढी उचाइबाट प्रवेश गर्नुपर्ने अवस्था रहने भएकाले भैरहवाको प्रस्तावित रुट सामान्य उडान तथा अवतरणका लागि बढी व्यावहारिक हुन सक्ने नेपालको तर्क छ।

यस विषयमा सहमति जुटाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव जयनारायण आचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्रराज भण्डारी र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोलसहितको टोलीले दिल्ली पुगेर भारतीय पक्षसँग छलफल गरेको थियो।

छलफलका क्रममा भारतले रक्सौलमा निर्माण गरिरहेको विमानस्थलका लागि नेपाली हवाई क्षेत्र प्रयोग गर्ने सम्भावनासमेत उठाएको थियो। नेपाली टोलीले त्यसबारे विस्तृत प्राविधिक विवरण उपलब्ध गराउन भारतीय पक्षलाई आग्रह गरेको बताइएको छ।

त्यसैगरी पश्चिम बंगालको बागडोगरा विमानस्थलका लागि सीमित नेपाली हवाई क्षेत्र प्रयोग गर्ने विषयमा पनि भारत सकारात्मक रहेको बताइएको छ। महेन्द्रनगर, जनकपुर र भैरहवाबाट फरक–फरक उचाइमा हवाई प्रवेश मार्ग उपलब्ध गराउने विषयमा छलफल भए पनि अन्तिम निर्णय भने भइसकेको छैन।

भ्रमणका क्रममा लामो समयदेखि प्रतीक्षामा रहेका केही पूर्वाधार आयोजनासमेत उद्घाटन गर्ने तयारी गरिएको छ।

अयोध्या-जनकपुर सीधा रेलसेवा सञ्चालन, काभ्रेको पनौतीमा निर्माण गरिएको नेपाल प्रहरी एकेडेमीको नयाँ भवन, दार्चुलामा निर्माण भएको पुल तथा भैरहवास्थित एकीकृत जाँच चौकी (आईसीपी) उद्घाटन गर्ने तयारी अन्तिम चरणमा पुगेको अधिकारीहरूले बताएका छन्।

यी आयोजनाले धार्मिक पर्यटन, सुरक्षा पूर्वाधार, सीमापार आवागमन र व्यापारिक गतिविधिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

त्यसैगरी अमलेखगन्जदेखि चितवनसम्म पेट्रोलियम पाइपलाइन विस्तार परियोजनाको शिलान्यास गर्ने तयारी पनि गरिएको छ। सूचना प्रविधि र बन्दरगाहलगायत नयाँ क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर गर्ने विषयसमेत टुंगो लागिसकेको बताइएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भ्रमणकै अवसरमा एक दर्जनभन्दा बढी नयाँ परियोजना अघि बढाउने योजना छ।

प्रधानमन्त्री शाहले भ्रमणमा राजनीतिक औपचारिकताभन्दा आर्थिक उपलब्धिलाई प्राथमिकता दिने तयारी गरेका छन्। नेपाल र भारतबीच व्यापार, लगानी, ऊर्जा, पूर्वाधार तथा प्रविधिका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयलाई वार्ताको केन्द्रमा राखिनेछ।

मंसिर ७ गते बिहान दुवै देशका उद्योगी तथा व्यवसायी सहभागी हुने कार्यक्रमलाई प्रधानमन्त्री शाहले सम्बोधन गर्ने तयारीसमेत गरिएको छ। यद्यपि, उक्त कार्यक्रमको अन्तिम टुंगो लाग्न बाँकी रहेको स्रोतको भनाइ छ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय विदेशमन्त्री डा. एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

निर्धारित कार्यतालिकाअनुसार प्रधानमन्त्री शाह आइतबार अपराह्न नयाँदिल्ली पुग्नेछन्। सोमबार बिहान राष्ट्रपति भवनमा गार्ड अफ अनरसहित उनको औपचारिक स्वागत गरिनेछ।

त्यसपछि भारतीय प्रधानमन्त्री मोदीसँग दिवाभोजसहित द्विपक्षीय वार्ता हुनेछ। वार्तामा दुई देशबीचका विद्यमान सम्बन्ध, आर्थिक सहकार्य र प्रस्तावित परियोजनाबारे छलफल हुनेछ। प्रधानमन्त्री शाह सोमबार साँझ नै स्वदेश फर्किने कार्यक्रम छ।

भ्रमणका क्रममा हुने सम्झौता, समझदारी, शिलान्यास र उद्घाटनका विषयलाई अन्तिम रूप दिने काम भइरहेको छ। भ्रमणको औपचारिक कार्यतालिका र सहमति हुने विषयबारे परराष्ट्रसचिव अमृत राईले पत्रकार सम्मेलनमार्फत विस्तृत जानकारी दिने तयारी गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *