बालेन र मोदीद्वारा संयुक्त उद्घाटन, जनकपुर-अयोध्या रेल सेवा सुरु
काठमाडौं । माता सीताको जन्मभूमि जनकपुरधाम र भगवान् श्रीरामको जन्मभूमि अयोध्याबीच सिधा रेल सेवा सुरु भएको छ । दुई देशका शताब्दीयौँ पुरानो धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई भौतिक रूपमा जोड्ने उद्देश्यसहित सोमबारदेखि जनकपुरधाम-अयोध्या विशेष रेल सेवा सञ्चालनमा आएको हो ।
नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट संयुक्त रूपमा भर्चुअल माध्यमबाट रेल सेवाको उद्घाटन गरेका हुन् । उद्घाटनलगत्तै अयोध्याबाट रेल जनकपुरधामका लागि प्रस्थान गर्ने कार्यक्रम छ । अयोध्या रेलवे स्टेसनमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसहित रेलका उच्च अधिकारीहरूले रेललाई बिदाइ गर्नेछन् ।
करिब ६०४ किलोमिटर लामो यो रेलमार्गले नेपाल र भारतका दुई प्रमुख धार्मिक नगरीलाई प्रत्यक्ष सम्पर्कमा जोडेको छ । भारतीय रेल मन्त्रालयका अनुसार सातामा एकपटक दुवैतर्फ रेल सञ्चालन हुनेछ । निर्धारित तालिकाअनुसार प्रत्येक शनिबार दिउँसो १ः१० बजे जनकपुरधामबाट छुट्ने रेल आइतबार बिहान ८ः१० बजे अयोध्या क्यान्ट पुग्नेछ । त्यसैगरी, प्रत्येक सोमबार साँझ ५ः५० बजे अयोध्या क्यान्टबाट छुटेको रेल जनकपुरधाम आइपुग्नेछ ।
यो रेल जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर हुँदै अयोध्या धाम पुग्नेछ । नयाँ सेवा सञ्चालनसँगै धार्मिक यात्रु, पर्यटक तथा सीमापार आवागमन गर्ने नागरिकलाई थप सहज हुने अपेक्षा गरिएको छ ।
तर, रेल सञ्चालनको विषयमा सबैभन्दा पेचिलो बनेको थियो सुरक्षा व्यवस्थापन । भारतीय रेल नेपाली भूमिमा प्रवेश गरेपछि त्यसको सुरक्षा कसले गर्ने भन्ने विषयमा नेपाल र भारतबीच लामो छलफल चलेको थियो । नेपालले आफ्नो भूमिमा नेपाली सुरक्षाकर्मी परिचालन हुनुपर्ने अडान राखेको थियो भने भारतले आफ्नै रेल भएकाले रेलसँगै भारतीय सुरक्षाकर्मी रहने धारणा अघि सारेको थियो ।
जनकपुरधाम र अयोध्यालाई जोड्ने यो रेल सेवा केवल यातायातको नयाँ माध्यम मात्र होइन, रामायणसँग जोडिएको साझा धार्मिक तथा सांस्कृतिक विरासतलाई प्रत्यक्ष सम्पर्कमा ल्याउने प्रयासका रूपमा पनि हेरिएको छ ।
हिन्दू धार्मिक मान्यताअनुसार जनकपुरधाम माता सीताको जन्मभूमि हो भने अयोध्या भगवान् श्रीरामको जन्मभूमि । त्रेतायुगमा राजा जनककी पुत्री सीता र अयोध्याका राजकुमार रामबीच भएको विवाहले यी दुई सहरलाई एउटै धार्मिक तथा सांस्कृतिक परम्परामा गाँसेको विश्वास गरिन्छ ।
जनकपुरधामको जानकी मन्दिर, राम मन्दिर र विवाहमण्डपदेखि अयोध्याको राम मन्दिरसम्मका धार्मिक स्थलले दुवै देशका श्रद्धालुको साझा आस्थालाई प्रतिनिधित्व गर्दै आएका छन् । विशेषगरी प्रत्येक वर्ष जनकपुरधाममा आयोजना हुने विवाहपञ्चमी महोत्सवमा अयोध्याबाट जन्ती आउने र जनकपुरबाट भारसहितको टोली अयोध्या पुग्ने परम्पराले यी दुई सहरबीचको ऐतिहासिक सम्बन्धलाई जीवन्त राखेको छ ।
नयाँ रेल सेवाले यही धार्मिक आवागमनलाई सहज बनाउँदै रामायण सर्किट पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । नेपालले जनकपुरधाम आउने पर्यटकलाई देशका अन्य पर्यटकीय गन्तव्यसम्म पुर्याउन जनकपुरबाट पोखरालगायतका सहरमा हवाई सेवा विस्तार गर्ने योजना पनि अघि सारेको छ ।
